सिरहा/असोज २७ गते । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय जगदिश यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले यादवको घरमा खानतलासी गरेको थियो ।
सोमबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी महेशवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले कल्याणपुरस्थित यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा ९० किलो गाँजा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका यादवलाई बरामद लागुऔषधसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ ।
घटनामा गाँजा कहाँबाट ल्याइएको थियो, बिक्री वितरणमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















Discussion about this post