जनकपुरधाम/असोज २१ गते । धनुषा र सिरहा जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले आगामी मंसिरदेखि पुलमा आवागमन खुलाउने तयारी गरेको जनाएको छ।
कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने अहिले सुपर ढलानको काम भइरहेको छ। फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानको कामसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
२०७८ असारमा सञ्चालनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलरमा क्षति पुर्याएपछि लामो समयदेखि पुल अलपत्र अवस्थामा थियो। पुनःनिर्माणमा ढिलाइ हुँदा धनुषा–सिरहाका स्थानीयवासीलाई कमला नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपर्ने बाध्यता रहँदै आएको थियो।
पुल निर्माणमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि निर्माण कार्यले गति लिएको प्रमुख महतोले बताए। पुलको दुवैतर्फ पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेकाले मंसिरदेखि आवागमन खुलाउने तयारी गरिएको उनको भनाइ छ।
कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पाएको थियो। अहिले पनि सोही निर्माण कम्पनीले पुल पुनःनिर्माणको काम गरिरहेको छ।
यसैबीच, हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ। उक्त सडकखण्डमा पर्ने २४ वटा पुलसमेत निर्माण सम्पन्न भइसकेका छन्।
कार्यालयका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कुल ५७ दशमलव ५२ किलोमिटरमध्ये २९ दशमलव ९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। धनुषामा ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर र महोत्तरीमा ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण भइसकेको छ।
त्यस्तै, सर्लाहीमा कुल १६६ दशमलव २ किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सडक क्षेत्रमा रहेका घरटहरा हटाउन ढिलाइ तथा विभिन्न स्थानमा देखिएको जग्गा विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए।
हुलाकी सडक तथा कमला पुल निर्माण सम्पन्न भएपछि मधेशका ग्रामीण क्षेत्रको आवागमन सहज हुनुका साथै व्यापार, कृषि तथा समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।















Discussion about this post