जनकपुरधाम/असोज १३ गते। विश्व मुटु दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी, सचेतना र्याली तथा स्वास्थ्य शिविर आयोजना गरी विश्व मुटु दिवस मनाइएको छ।
लायन्स क्लब अफ जनकपुरधाम र लायन्स क्लब अफ जनकपुरधाम गार्गीको संयुक्त आयोजनामा ‘मुटुलाई धड्किन देऊ’ भन्ने नाराका साथ मंगलबार प्रभातफेरी तथा सचेतना र्याली निकालिएको हो।
जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको प्रभातफेरी तथा सचेतना र्याली नगरका विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर समापन भएको थियो।
हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाइन्छ। सोही अवसरमा जनकपुरधाममा मुटुको स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो।
प्रभातफेरी तथा सचेतना र्यालीपछि जानकी मन्दिरको प्राङ्गणमा उच्च रक्तचाप तथा मधुमेह (सुगर) जाँच शिविर सञ्चालन गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य समुदायमा मुटुको स्वास्थ्यप्रति सचेतना फैलाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा ‘मुटुको धड्कनलाई टुट्न नदिनुहोस्’ र ‘स्वस्थ मुटुले सुदृढ समुदाय निर्माण गर्छ’ भन्ने सन्देश प्रवाह गरिएको थियो।
त्यस्तै, ‘उज्ज्वल भविष्य’, ‘सक्रिय बनौँ, स्वस्थ रहौँ’, ‘स्वस्थ खाऔँ, स्वस्थ जीवन बिताऔँ’ र ‘सुर्तीजन्य पदार्थलाई अस्वीकार गरौँ’ जस्ता नारामार्फत सक्रिय जीवनशैली अपनाउन, स्वस्थ खानपानमा ध्यान दिन तथा सुर्तीजन्य पदार्थबाट टाढा रहन आह्वान गरिएको थियो।
मुटु रोगको जोखिम कम गर्न नियमित शारीरिक गतिविधि गर्ने, सन्तुलित खानपान अपनाउने, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने र आफ्नो स्वास्थ्यप्रति सचेत रहने विषयमा कार्यक्रममार्फत जोड दिइएको थियो।
कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, लियो क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम क्यापिटल र लियो क्लब अफ जनकपुरधाम मेडिकोजको सहकार्य रहेको थियो।
कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधाम र लायन्स क्लब अफ जनकपुरधाम गार्गीका अध्यक्ष तथा पदाधिकारी, लियो क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम क्यापिटल र लियो क्लब अफ जनकपुरधाम मेडिकोजका अध्यक्ष तथा पदाधिकारी, लायन्स तथा लियो सदस्य, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो।















Discussion about this post