काठमाडौं/असोज ८ गते । नेपाली कांग्रेसले आफ्नो १५ औँ केन्द्रीय महाधिवेशनको आधिकारिक नारा र लोगो सार्वजनिक गरेको छ। पार्टीले सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशनको प्रचार सामग्रीका रूपमा नारा र लोगो औपचारिक रूपमा बाहिर ल्याएको हो।
कांग्रेसले १५ औं महाधिवेशनका लागि “परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प” भन्ने मूल नारा तय गरेको छ। यस नाराले पार्टीको ऐतिहासिक विरासत, बिपी कोइरालाको लोकतान्त्रिक समाजवाद र समयसापेक्ष रूपान्तरणको भावनालाई समेट्न खोजेको छ।
सार्वजनिक गरिएको नयाँ लोगोमा पार्टीका संस्थापक तथा ऐतिहासिक शीर्ष नेताहरूको चित्र समावेश गरिएको छ। लोगोमा संस्थापक नेता बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि वर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ।
नेपाली कांग्रेसको कार्यतालिकाअनुसार १५ औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा आयोजना हुनेछ। महाधिवेशन नजिकिँदै गर्दा पार्टीले तल्लो तहका अधिवेशनहरू तीव्र रूपमा अघि बढाएको छ भने केन्द्रीय महाधिवेशनको व्यवस्थापकीय तथा राजनीतिक तयारीलाई पनि तीव्रता दिएको छ।















Discussion about this post