जनकपुरधाम/भदौ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट करिब ११ दिनअघि अपहरणमा परेका १५ महिनाका बालक सिधान्त महतोको प्रहरीले सकुशल उद्धार गरेको छ।
आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा भदौ १८ गते अपराह्न हराएका बालकलाई प्रहरीले नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा विशेष अनुसन्धानमार्फत भदौ २९ गते फेला पारेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानलाई समेत पक्राउ गरेको छ।
बालक हराएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको विशेष प्रहरी टोली परिचालन गरेको थियो। खोजी अभियानमा तालिमप्राप्त कुकुर तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको निरन्तर अनुसन्धान, निगरानी र सम्भावित स्थानमा गरिएको घेराबन्दीपछि आरोपित महिलाले भदौ २९ गते दिउँसो बालकलाई पीडितको घरदेखि करिब ३०० मिटर दक्षिणतर्फ सडकछेउमा छाडेर फरार भएकी थिइन्।
बालक फेला परेलगत्तै प्रहरीले उद्धार गरी स्वास्थ्य परीक्षण गराएको थियो। स्वास्थ्य परीक्षणपछि बालकलाई सकुशल रूपमा उनका अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बालकलाई सडकछेउमा छाडेर फरार भएकी आरोपित पुनिता देवी पासवानलाई प्रहरीले सोही दिन साँझ विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाको उद्देश्य, बालकलाई कहाँ–कहाँ राखिएको थियो तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।















Discussion about this post