साउन २५ गते। मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–१, कचन्दाहाका राजु पासवानलाई बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–०८३ बाट सम्मान गरिएको छ।
३४ औँ प्रकाश स्मृति दिवसका अवसरमा २०८३ साउन २५ गते राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा पासवानलाई ११ हजार पाँच सय रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो।
मधेश प्रदेश सभाका सभामुख राम आशिष यादवको प्रमुख आतिथ्य तथा उच्च अदालत जनकपुर–राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
इन्सेक मधेश प्रदेशका संयोजकसमेत रहनुभएका पासवान विगत साढे दुई दशकदेखि मानव अधिकार, सामाजिक न्याय र समुदाय सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। विभेद तथा हिंसाबाट प्रभावित समुदायको अधिकार संरक्षण, पीडितको उद्धार, पुनर्स्थापना, कानुनी पैरवी र सामाजिक न्याय प्रवर्द्धनमा उहाँले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो।
बैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको साउन १४ गते बसेको बैठकले पासवानलाई एघारौँ पटकको पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। इन्सेकद्वारा ‘२१औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित बैद्यनाथ झाले प्राप्त गरेको ५० हजार रुपैयाँबाट उक्त कोष स्थापना गरिएको थियो। कोषले ०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार, नागरिक अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एक जना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।
यसैगरी, उर्मिलादेवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार–०८३ राजगढ गाउँपालिकाकी तथा हाल राजविराज नगरपालिका–६ मा बसोबास गर्दै आएकी शीलमदेवी झालाई प्रदान गरिएको छ।
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नी भाइबुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा स्थापना गर्नुभएको उक्त पुरस्कारको राशि २ हजार ५ सय रुपैयाँ रहेको छ। मैथिली महिला परिषद्को सिफारिसका आधारमा मैथिली भाषा, लोककला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लोकगायनमार्फत पुर्याएको योगदानको कदर गर्दै शीलमदेवी झालाई सम्मान गर्ने निर्णय गरिएको बैद्यनाथ झाले जानकारी दिनुभयो।
उहाँका अनुसार स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा प्रत्येक वर्ष मधुश्रावणी पर्वका अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आइएको छ।















Discussion about this post