धनुषा/असार १६ गते। डिभिजन वन कार्यालय धनुषाको आयोजनामा वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले वन संरक्षणका प्रयासलाई वन्यजन्तु संरक्षणसँग एकीकृत गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
डिभिजन वन कार्यालय धनुषाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आयोजित गोष्ठी चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजको सहजीकरण तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन र वन्यजन्तु एकअर्काका परिपूरक भएकाले दिगो वातावरण संरक्षणका लागि दुवैको संरक्षण अपरिहार्य रहेको बताए। वन संरक्षणको चर्चा मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले वन्यजन्तुको प्राकृतिक बासस्थान जोगाउन पनि समान प्राथमिकता दिनुपर्ने धारणा राखे।
उनले प्रदेश सरकारले वन तथा वातावरण संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै सीमित स्रोतसाधन र बजेटका बाबजुद संरक्षण अभियानलाई निरन्तरता दिइएको बताए। विशेषगरी हरियो वन तथा चुरे क्षेत्र संरक्षणमा बजेट अभाव चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उपलब्ध स्रोतको प्रभावकारी परिचालनमार्फत काम भइरहेको उनले बताए।
मन्त्री चौधरीले सञ्चारमाध्यमलाई तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामार्फत सरकारका कामको निगरानी गर्न आग्रह गर्दै कुनै कमजोरी वा त्रुटि देखिए प्रमाणसहित औंल्याउन अनुरोध गरे। सत्यमा आधारित पत्रकारिताले सुशासन र उत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
गोष्ठीमा वन क्षेत्रका अधिकारीहरूले चुरे संरक्षण, वन अतिक्रमण नियन्त्रण, अवैध वन पैदावार ओसारपसार रोकथाम, वन डढेलो व्यवस्थापन तथा सामुदायिक वनको प्रभावकारी सञ्चालनका लागि सरकारी निकाय, स्थानीय समुदाय र सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहेको बताए।
उनीहरूले वन संरक्षणसम्बन्धी नीति तथा कार्यक्रम प्रभावकारी भए पनि पर्याप्त बजेट, जनशक्ति र प्राविधिक स्रोतको अभावका कारण कार्यान्वयनमा अपेक्षित उपलब्धि हासिल गर्न कठिनाइ भइरहेको धारणा राखे। जलवायु परिवर्तनका कारण वन क्षेत्र, जैविक विविधता तथा वन्यजन्तुको प्राकृतिक बासस्थानमा गम्भीर असर पर्न थालेको भन्दै समयमै प्रभावकारी संरक्षणका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइयो।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले वन तथा वातावरणसम्बन्धी विषयलाई तथ्यपरक र जिम्मेवार ढंगले सञ्चारमाध्यममार्फत प्रस्तुत गर्नुपर्ने बताउँदै जनचेतना अभिवृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
गोष्ठीमा डिभिजन वन कार्यालयका कर्मचारी, प्रदेश वन निर्देशनालयका प्रतिनिधि, पत्रकार, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





















Discussion about this post