धनुषा/जेठ ३ गते । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ महिने गेरुका स्नान (मेला) सुरु भएको छ । आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको थियो। धार्मिक आस्था तथा परम्पराअनुसार भक्तजनहरूले गेरुका नदी तथा पवित्र कुण्डमा स्नान गरी पूजा–आराधना गरेका छन्।
विशेषगरी मिथिला क्षेत्रका साथै छिमेकी भारतबाट समेत आएका श्रद्धालुहरूले स्नानपछि भगवान विष्णुको मन्दिरमा पूजा अर्चना गर्दै सुख, शान्ति तथा मोक्ष प्राप्तिको कामना गरेका थिए।
आइतबार बिहान जनकपुरधामको जानकी मन्दिरको अगुवाईमा राम र सीताको स्वरुपलाई गेरुका नदिमा लगेर पूजासमेत गरिएको छ । मिथिला महात्मेमा उल्लेख भएअनुसार माता सीता गेरुका नदिमा स्नान गर्ने गर्थिन ।
मलेमासका बेला यहाँ स्नान गर्नाले जानी नजानी गरिएका पापहरुबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । गेरुका स्नान गर्न मधेश प्रदेशका ८ वटै जिल्लाका श्रद्धालुभक्तजनसहित सीम पार भारतबाट पनि श्रद्धालुहरु आउने गर्छन । एक महिना भरिमा लाखौं श्रद्धालुभक्तजनहरु यहाँ आएर स्नान गर्ने गर्छन ।
‘यस ऐतिहासिक गेरुका नदिमा गरिने स्नान प्रति श्रद्धालुहरुको मनमा यति धेरै आस्था रहेको छ कि बिना प्रचार प्रसार नै लाखौं भक्तजन यहाँ स्नान गर्न आउछन्’, स्थानीय पिपरारीबासी हरिसचन्द्र यादवले बताए ।
उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले प्रचार प्रसार गर्ने तर्फ ध्यान दिए यस स्थानलाई भारतको कुम्भ मेला झैँ धार्मिक स्थलको रुपमा परिणत गर्न सकिन्छ ।
कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थलमा पूर्वकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आएको छ । यस वर्षको मेला जेठ ३ गतेदेखि सुरु भई पूरा महिनाभर सञ्चालन हुनेछ । विशेषगरी आइतबार र मंगलबार श्रद्धालु भक्तजनको बढी सहभागिता हुन्छ । धार्मिक मान्यताअनुसार गेरुका धामको पवित्र जलाधारमा स्नान गरी भगवान पुरुषोत्तमको पूजा आराधना गरे अक्षय पुण्य प्राप्त हुन्छ ।




















Discussion about this post