गिरिजानन्द साह/जनकपुरधाम/भदौ ६ गते। पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको “संगठन सुदृढीकरण तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम” आज जनकपुरधाममा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले कुनै पनि ठाउँ वा पदको नेतृत्व गर्नका लागि कार्यसम्पादन नै पहिलो आधार हुने बताएका छन्। उनले बदलिँदो युगमा जनताले पद वा हैसियतको आधारमा नभई सेवाभाव, नैतिकता र कार्यसम्पादनको आधारमा नेतृत्वको मूल्यांकन गर्ने स्पष्ट पारे।
कार्यक्रममा अधिकांश वक्ताहरुले निर्वाचित जनप्रतिनिधि र पेशागत महासंघबीच जीवन्त सम्बन्ध कायम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
अन्तरक्रियामा पेशागत महासंघ नेपाल मधेश प्रदेशका अध्यक्ष बिमला थापा, पुण्य प्रसाद ढकाल, चन्देश्वर मण्डल, भोलानाथ पोखरेल, हरि श्रेष्ठ, केदार प्रसाद देवकोटा, रामदेवलाल दास, रामनारायण मेहता, भोला यादव, अशोक चौधरी लगायतका व्यक्तित्वहरुले आफ्ना धारणा राखेका थिए।
यसैगरी, मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका संगठनका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरुले अन्तरक्रियालाई संगठनभित्र विचार आदान–प्रदान, अनुभव साझेदारी र भविष्यका योजनाहरु तय गर्न उपयोगी भएको बताए।














Discussion about this post