गिरिजानन्द साह/जनकपुरधाम/असार २८ गते। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कपिलेश्वरनाथ मन्दिरमा यस वर्षको साउने पूजनोत्सव मेलाको अवसरमा आज भव्य कलश यात्रा निकालिएको छ। कलश यात्राले साउने महिना भरि चल्ने धार्मिक गतिविधिहरूको सुरुआतको संकेत गरेको छ।
आज विहान कपिलेश्वरनाथ मन्दिर परिसरबाट सुरु गरिएको कलश यात्रा परम्परागत वैदिक विधिअनुसार गाउँ परिक्रमा गर्दै स्टेशन, भनु चौक, शिव चौक हुदैँ गंगासागरमा जल भरेर कदम चौक हुँदै पुनः मन्दिरमा पुगेर कलश स्थापना गरिएको छ। यात्रामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कपिलेश्वरनाथ युवा कमिटीका अनुसार यस वर्षको साउने मेला असार ३० गते सोमबारबाट सुरु हुनेछ। मेलाको विशेष आकर्षणका रूपमा प्रत्येक सोमबार बिहान ५:०० बजे महादेवको श्रृङ्गार, ५:३० बजे विहानी आरती, ७:३० बजे संध्या आरती र ८:१५ बजे विशेष महाप्रसाद वितरण गरिनेछ।
त्यस्तै, साउन महिनाभर प्रत्येक सोमबार विशेष पूजाआजा, रुद्राभिषेक, तथा धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने बताइएको छ।
साउने महिना शिवभक्तका लागि विशेष मानिन्छ, र कपिलेश्वरनाथ मन्दिरमा लाग्ने यो पूजनोत्सव मिथिला क्षेत्रकै एक प्रमुख धार्मिक आकर्षण बनेको छ। आयोजक समितिले मेलामा सर्वसाधारणको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको र श्रद्धालुहरूलाई भक्तिभावपूर्वक सहभागी हुन आग्रह गरेको छ।














Discussion about this post