जनकपुरधाम/जेठ ३० गते। जनकपुरधाम उपमहानगरपालिका–२३ मा रहेको शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गरी अपमान गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सोही स्थानका ४४ वर्षीय रतन महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार जेठ २८ गते साँझ रतन महतोले जनकपुर–२३ स्थित सार्वजनिक स्थानमा रहेको शहीद झाको सालिकमा चप्पल प्रहार गरी अपमानजनक व्यवहार गरेका थिए। उक्त घटनाबारे विशेष सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको थियो।
घटनापछि फरार रहेका महतो जेठ २९ गते आफ्नै गाउँको आसपासमा घुमिरहेको अवस्थामा फेला परेका थिए। प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको र हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वरुण सिंहले जानकारी दिए।
शहीद दुर्गानन्द झा नेपालको पहिलो राजनीतिक शहीदको रूपमा चिनिन्छन्। उनको योगदानको सम्मानस्वरूप जनकपुरधाममा सालिक निर्माण गरिएको छ। सालिकमा चप्पल प्रहार जस्तो घटनाले स्थानीयबासी र राजनीतिक क्षेत्रबाट तीव्र प्रतिक्रिया र आक्रोश उत्पन्न भएको छ।














Discussion about this post