जनकपुरधाम/बैशाख २६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा ध्रुविकृत हुँदै गएको बताएका छन् । जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरी तीन ध्रुवमा राजनीतिक विभाजन भएको बताए ।
उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेस आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशिता, नागरिक स्वतन्त्रता र मौलिक हकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिवादीहरु लोकतान्त्रिक मूल्य मान्यतालाई स्वीकार्य गरे पनि सङ्घीयता र समावेशितालाई पचाउन नसकेको जिकिर गरे ।
पछिल्लो समयमा पश्चगामी शक्तिहरू समेत टाउको उठाउन थालेको भन्दै अध्यक्ष यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा , समावेशिता र नागरिक स्वतन्त्रताको पक्षमा चट्टानी अडानका साथ जसपालाई उभिनु पर्ने अवस्था आएको बताए ।
राजनीतिक खिचातानीका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भए पनि समानता, भागेदारी र समानुपातिक प्रतिनिधित्वको समस्या अझै कायम रहेको बताए ।
अग्रगामी शक्तिहरू कमजोर हुँदा यथास्थितिवादी र पश्चगामी शक्तिहरू प्राप्त उपलब्धिलाई सङ्कटमा पार्ने दुस्साहस गर्न थालेको भन्दै उनले त्यस्तो दुष्प्रयासलाई आफूहरू सफल हुन नदिने समेत बताए ।














Discussion about this post