जनकपुरधाम/फागुन १८ गते। जनकपुरधामको मदर टेरेसा पब्लिक स्कुलको आयोजनामा यही फाल्गुन २४ गते ‘रन फर जनकपुर च्याम्पियनशिप’ नामक ६ किलोमिटर खुल्ला म्याराथन प्रतियोगिता हुने भएको छ।
विद्यालयले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पर्यावरण संरक्षण र महिला सुरक्षाका लागि म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ। प्रतियोगितामा १६ वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिहरू सहभागी हुन सक्ने विद्यालयका निर्देशक अभिषेक कुमार चौधरीले बताउनुभयो।
प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई ११ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक डा. भरत जोशीका अनुसार, हालका दिनहरूमा महिला हिंसाका घटनामा वृद्धि भएको र वातावरणीय समस्याहरू देखा परेका कारण यस विषयमा जनचेतना फैलाउन म्याराथन प्रतियोगिता आयोजना गरिएको हो।
म्याराथन प्रतियोगिताको मार्ग भानु चोकबाट सुरु भएर कदन चोक, मुरली चोक, जीरोमाईल, रामानन्द चोक, हस्पिटल रोड, जानकी चोक हुँदै जनक चोक, शिव चोक भएर पुनः भानु चोकमा पुगेर समापन गरिनेछ। विद्यालयका निर्देशक चौधरीका अनुसार, प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्थासँगको सहकार्य पनि गरिनेछ।

















Discussion about this post