जनकपुरधाम /चैत २६ गते। आज परेको औँसीका दिन मिथिलाक्षेत्रमा सोमवती अमावस्या पर्व मनाइँदैछ । मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ ।
मिथिलामा सोमवती अमावस्याका दिन गरिने स्नान, दान एवं श्राद्ध अक्षयफल दिने पुण्यदायक मानिन्छ । सोमबार औँसी परेका दिन बिहान सखारै कसैसँग बोलचाल नगरी पवित्र जलाशयमा स्नान गर्ने परम्परा रहेको छ।
सोमवती अमावस्याका दिन पवित्र जलाशयमा स्नानपछि पीपल वृक्षको फेदमा जल चढाउने, पीपल वृक्ष वरिपरि धागो बाँध्ने, दीपदान गर्ने, आरती तथा पुष्पाञ्जली गर्ने र यथासक्य प्रदक्षिणा गर्ने शास्त्रीय विधान रहेको छ । सोमवती अमावस्यामा गरिने यी कार्यले समस्त पाप नास भई प्रतिकूल ग्रह बाधा हट्ने र सुख, शान्ति एवं समृद्धि प्राप्त हुने मैथिल जनविश्वास छ । पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिव तीनै देवको बास हुनेहुँदा सोमबारको औँसीका दिन पवित्र जलाशयमा स्नान गरी देवस्मरण गर्ने चलन पूर्वीय वैदिक परम्पराकै रहेको पाका मैथिल बताउँछन् ।
पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिवको बास हुने शास्त्रमा उल्लेख छ । ‘ॐमूलते ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे , अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।।’ पीपल वृक्षको मूल ब्रह्मा, मध्य विष्णु र अग्रभाग शिवरुप मानिने शास्त्रीय मान्यताले सोमबार औँसीका दिन यहाँ गरिने पूजाआराधना, दान, श्राद्ध तथा आरती पुण्यदायक हुने जानकारहरु बताउ छन्।

















Discussion about this post