सप्तरी/कार्तिक २१ गते। ३८ दिन अघि लागु औषधसहित पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरलाई पक्राउ गरेसँगै प्रहरीले थालेको अनुसन्धानका क्रममा सोही कार्यमा संलग्न रहेको आरोपमा स्वास्थ्य सहसंयोजकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक ४५ वर्षीय बैजनाथ साह र बोदेबर्साइन नगरपालिका–५ का ३५ वर्षीय मो.जमामुद्धिन इराकी रहेका छन् । बोदेबर्साइन नगरपालिका–५ का स्वास्थ्य शाखा सह–संयोजक साह र सोही वडाका इराकी समेतको लागू औषधको उक्त घटनामा संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । यस अघि गत असोज १२ गते बोदेवर्साइन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई प्रहरीले प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको थियो ।
स्वास्थ्य शाखा संयोजक ठाकुर चढेको लु ५५ प ५४३९ नम्बरको मोटरसाइकलबाट स्थानीय शत्रुघन चोकमा चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागू औषध नाइट्राभेट ट् याबलेट २७ र एस्पासमो ट्याबलेट १५ वटा बरामद गरेको थियो । प्रहरीले सप्तरी जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गराइ ठाकुरलाइ हिरासतमा राखेर थप अनुसन्धान गर्दै जाँदा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक साह र अर्का स्थानीयवासी इराकीकोसमेत संलग्नता देखिएपछि दुबै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखिएको तथा मंगलवार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post