ई.ज्योतिष विवेक पाण्डे/ कार्तिक ५ गते। दशैंको आठौं दिन आज देशभर महागौरी दुर्गा भगवतीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।
महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।
देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ । यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ ।
तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन् ।
आजैको दिन देवीले राक्षसहरुलाई मारेको दिनभएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा उल्लेख छ ।
आज मध्यरातमा कालरात्रीको पूजा गर्ने चलन छ । मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण दिन्छिन् भन्ने विश्वास रहेको छ ।

















Discussion about this post