काठमाडाैँ/श्रावण २९ गते। नेकपा एकीकृत समाजवादीकी सांसद पुष्पाकुमारी कर्ण कायस्थले रेडियो नेपालको केन्द्रीय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरू प्रशारण गर्न माग गरेकी छन्।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कायस्थले रेडियो नेपालको केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताइन्।
उनले बर्दिवासको प्रशारणबाट हुक गरेर केन्द्रीय प्रशारणले समाचार दिँदा समस्या देखिने गरेको उल्लेख गरिन्। सांसद कायस्थले प्रदेशको प्रशारणलाई यथावत राखि केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी भाषालाई प्राथमिकता दिइनुपर्ने बताएकी हुन्।
‘पछिल्लो समयमा मैथिलीसँगै भोजपुरी लगायतका भाषामा पनि समाचार, सूचना र मनोरञ्जनका विभिन्न कार्यक्रमहरू रेडियो नेपालको केन्द्रीय प्रशारणमार्फत प्रशारण हुँदै आएको थियो। तर २०७५ जेठ १८ गतेदेखि केन्द्रबाट बन्द गरियो यो कार्यक्रम। त्यसपछि मधेश प्रदेशको बर्दिवासमार्फत प्रशारण भइरहेको छ। हाल बर्दिवासबाट प्रशारण गर्ने समाचारलाई केन्द्रबाट हुक गरेर जोडिँदा प्रशारणमा कहिलेकाहीँ समस्या देखिने गरेको छ।’ उनले भनिन्,’प्रदेशको कार्यक्रमलाई यथावत राखि भाषाभाषीको जनसंख्या र भाषा विज्ञानका विभिन्न वैज्ञानिक सिद्धान्तहरुको आधारमा मैथिली भोजपुरी लगायतका भाषालाई केन्द्रिय प्रशारणमा प्राथमिकता दिइनुपर्छ।’
उनले सांसदहरु सहितको उच्चस्तरीय आयोग गठन गरी समस्याग्रस्त विश्वविद्यालयहरुको समस्या र आवश्यकता पहिचान गरी तत्काल समस्याको समाधान गर्नुपर्नेमा समेत जाेड दिएकी छन्।





















Discussion about this post