महोत्तरी/चैत २ गते। महोत्तरी जिल्लाको भारतीय सीमा नाका संग जोडिएका क्षेत्रमा मदिरा सेवन गर्ने भारतीयहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।
सीमावर्ती जिल्लामा प्रायः भारतीय नागरिक मदिरा सेवन गर्न नेपाल पस्ने गरेको देखिएको छ । भारतको बिहार राज्यमा मदिरामाथि पूर्ण प्रतिबन्ध लगाएपछि नेपाल भारत सीमाक्षेत्रमा केही वर्ष यतादेखि मदिरा व्यवसाय फष्टाएर गएको छ । नेपालमा मदिरा सेवन गर्न आउने र सीमा क्षेत्रबाट भारतको बिहार तर्फ मदिरा तस्करीको काम समेत फस्टाएको छ ।
रक्सी सेवन गर्ने बानी परेकाहरु दिनहुँ जसो सीमावर्ती जलेश्वर नगरपालिका, मटिहानी, बथनाहा, कटैया, मधवा, मरुवाही, चकवा बेला सहितका विभिन्न स्थानको बजारमा आएर मदिराको पिउने गरेका छन् । अलिकति हुनेखाने भारतीयहरु सदरमुकाम जलेश्वर नगरपालिकाको होटलमा कोठा नै भाडा लिएर रात रातभरि रक्सी सेवन गरी भोलिपल्ट घर फर्किने गर्छन् भने निम्नवर्गकाहरु मदिराको मात चढेपछि अमर्यादित क्रियाकलाप गर्न समेत बाँकी राख्दैनन् भन्ने गुनासो जनता समाजवादी पार्टीका स्थानीय नेता सरबेश झाले गुनासो गरे । उनी भन्छन्,‘यही दुई दिन पूर्वको कुरो हो ,बिहारको बराहीका व्यक्तिहरु नेपालको बथनाहामा मदिरा सेवन गरेर दुई पक्षबीच कुटाकूट भएको थियो ,भने मदिरा सेवनकै कारण बथनाहाको पूर्वतर्फ रहेको भूमिहार टोलको वातावरण बिग्रेर गएको छ,दिनहुँ जसो हो हल्ला हुने गरेको छ।’ हलखोरी लगायतको आसपासमा रहेका अवैध मदिरा पसलहरुमा दिउँसै रक्सी सेवन गरेर सडकमा लड्नेहरुको संख्या बढेर गएको छ भने मोटरसाइकल दुर्घटनामा समेत वृद्धि भएर गएको पत्रकार सञ्जाल महोत्तरीका अध्यक्ष राकेश प्रसाद चौधरी बताउंछन् ।
भारतको सुरसण्ड,भिठ्ठा,बेनीपट्टी,सीतामढीसम्मका जंड्याहाहरु नेपालमा आएर रक्सी सेवन गरेको पाइएका छन् । दशगजा नजिकै खोलिएका मदिरालयहरुले भारतीयहरुको तलतल मेटाउने गरेकोले रक्सी पसलमा भारतीयहरुको बिहानैदेखि भीड लाग्ने गरेको छ । प्रत्येक दिन दिउँसै रक्सीको मातमा लडेका मान्छेहरुले गर्दा बाटो हिँडने बटुवा र सवारी साधनलाई पनि समस्या भएको छ भने अर्कोतिर भारतबाट जाँड खान आएकाहरुका कारण पनि सामाजिक विकृति एकदमै बढेर गएको मनरा सिस्वा नगरपालिका–९का स्थानीयवासीहरुको गुनासो छ । मातमा अपशब्द बोल्दै होहल्ला गर्ने, कुटाकूट गर्ने र बेहोस भएर लड्दा समेत स्थानीय निकायको ध्यान जान नसक्नु दुर्भाग्यपूर्ण रहेको जलेश्वर नगरपालिका–४सुगाका वडाअध्यक्ष लोकेन्द्र लाल कर्णले बताउंछन् ।
भारतबाट आइ रक्सी सेवन गर्नेकै कारण महोत्तरी जिल्लाको दुई दर्जन भन्दा बढी गाउँका सीमावर्ती बजारहरुमा रक्सी भठ्ठी सञ्चालकहरुको सँख्या समेत बढिरहेको छ । नेपाली व्यक्तिका नाममा दर्ता गराउने तर सञ्चालक भने भारतीय नागरिकहरु रहेको पाइएको छ । यी भठ्ठीहरु अवैध हुँदा हुँदै पनि स्थानीय प्रशासनले कुनै कारवाही भने गर्न नसकेको स्थानीयवासीहरुको कथन छ । बिहारमा रक्सी प्रतिबन्धित भएपछि अवैध रुपमा नेपाली बजारबाट मदिराको निर्यात समेत भई रहेको छ । मदिरा व्यवसायमा देखिएको विकृतिका कारण स्थानीयवासीहरु चिन्तित बनेका छन् । सीमावर्ती क्षेत्रका फष्टाएको मदिरा तस्करी र अवैध मदिरा पसलहरुको संचालनमा खुलेआम छूट दिएर प्रहरी प्रशासनले मासिक कमिशन नै उठाउने गरेको गुनासो समेत स्रोतले गरेको छ । मनरा सिस्वा गापाका मधबा गाउँका नेकपा एमालेका नेता समेत रहेका कुन्दन झा भन्छन्,‘नेपालमा रक्सी बिक्री गर्ने छूट छ बेच्न रोक्न सकिन्न तर भारतबाट नेपाल आएर यहाँको समाजको मर्म भावना विपरीत हुने क्रियाकलाप भने पक्कै पनि अपराध हो ।
त्यसैले स्थानीय प्रशासनले यसलाई भने नियन्त्रण गर्न सक्नु पर्छ नत्र यस होली पर्वमा भारतीय नागरिकहरुको नेपाल आएर मदिरा खानेहरुको संख्या बढ्ने र त्यसले यहाँको समाजमा विकृति फैलाउने निश्चित छ , त्यसैले यस बारे प्रशासन चनाखो हुनै पर्छ । ’ महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा मात्रै दुई सय भन्दा बढी अवैध मदिरा पसलहरु सञ्चालनमा रहेको छ । यस्ता अवैध मदिरा पसलहरु तत्काल बन्द गर्न सक्नु पर्छ अन्यथा यसले सीमावर्ती क्षेत्रको समाजलाई नराम्ररी विकृित गर्ने निश्चित रहेको स्थानीयको भनाई छ । रक्सीमा मात्तिएर होहल्ला गर्नेहरुकै कारण सीमावर्ती क्षेत्रका गाउँका चेलीबेटीहरु बिहान बेलुका घरबाट बाहिर निस्कन समेत नसक्ने वातावरणको सृजना हुने गरेको मटिहानीका किराना व्यवसायी रामकिशोर शाहले बताउँदै मानव वस्तीमै खोलिएका भठ्ठीहरुमा प्रत्येक राति होहल्ला हुने गरेको भए पनि प्रहरी प्रशासन कानमा तेल हालेर सुत्नु दुर्भाग्यपूर्ण भन्दै यस अवस्थाप्रति चिन्ता पनि व्यक्त गर्छन् । सीमावर्ती क्षेत्रको यो मदिराको समस्या भने महोत्तरी जिल्लाको मात्र नभई भारतको बिहार संग जोडिएका मधेश प्रदेशको आठ वटै जिल्लामा देखिएको छ ।
साभार स्रोत-ईजनकपुर टुडे अनलाईन बाट














Discussion about this post