विशाल बस्नेत/महोत्तरी/माघ २६ गते। राज्य पुनर्संरचनापछि घरै अगाडि बनेको सरकारले जनताको सु:ख र समृद्धिका लागि आमूल परिवर्तन ल्याउनेमा महोत्तरी गौशालाका रामसरोज निकै उत्साहित थिए । २०७३ को निर्वाचनताका उनका दुई छोरामध्ये एकजना छोरा वैदेशिक रोजगारमा थिए । निर्वाचन नजिकिँदै गर्दा उनले छोरालाई पनि बोलाए र स्थानीय तहको चुनावमा परिचालन गरे । छिमेकीलाई उम्मेदवार बनाएर स्थानीय सरकार सञ्चालनमा पठाउँदा अझ यादवका अपेक्षा बढ्दै गए । तर निर्वाचन जितिसकेपछि स्थानीय सरकार सञ्चालनमा गएका गाउँघरका छोरा, भतिजा जब झगडामा ब्यस्त बने, तब यादवका अपेक्षा मात्र टुटेनन् छोराहरूलाई पुनः विदेश पठाउनुपर्ने बाध्यता सिर्जना बन्यो ।
अझ हरेक जनप्रतिनिधिले व्यक्त गरेका प्रतिबद्धता र घोषणापत्र हेर्न लायक थिए । जनप्रतिनिधिहरू निर्वाचित भएपछि बर्दिबासका ईश्वर बस्नेत युवाहरूलाई स्वरोजगार र कृषि क्षेत्रमा बनाएका योजना देखेपछि विदेशको बसाइलाई बिट मारेर स्वदेश फर्किए । कृषिमा केही गर्ने योजना बनाएर फर्किएका बस्नेत जब स्वदेश फर्किए तब उन्ले सोचेजस्तो हुँदै भएन । लाखौ खर्चेर बस्नेतले कुखुरा फार्म खोले । बजार नहुँदा घाटा खानुपर्यो । न बजारको सुनिश्चितता थियो न त उत्पादित वस्तुको उचित मूल्य नै । केही नलागेपछि बस्नेत अहिले पनि वैदेशिक रोजगारमा छन् ।
स्थानीय तहको निर्वाचन मिति तय भएसँगै महोत्तरीमा स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरूकाे समीक्षा हुन थालेको छ । चिया पसल, चोक र चौतारीमा जनप्रतिनिधिहरूकै चियो र चर्चा सुन्न र देख्न सकिन्छ । महोत्तरीका १५ स्थानीय तहमध्ये प्राय: स्थानीय तहमा जनप्रतिनिधिहरूको कार्यकाल विकासका स्मरणयोग्य कामभन्दा पनि झगडामा ब्यतित भयो । न बैदेशिक रोजगारमा रहेका युवाहरू घरगाउँ फर्किएर केही गर्ने वातावरण बन्यो न त रामसरोजहरूले देखेका सपना पूरा भए । घर-घरमा सिंहदरवार त आयो, तर जनताका सुख र समृद्धिका परिकल्पना एकादेशका कथा बने ।














Discussion about this post