सन्तोष सिंह/धनुषा/माघ १५ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको चोरापाखर जमुनी नदी किनारको फुलहर घाटमा नयाँ सीमास्तम्भ राखिएपछि नेपालीको खेत भारततर्फ परेको छ । पुस्तौंदेखि भोगचलन गर्दै आएको खेत पारि परेपछि स्थानीय समस्यामा परेका छन् ।
हातमा लालपुर्जा भए पनि जग्गा भारतमा परेको स्थानीय मायाशंकर यादवले बताए । ‘खेतको बीचमै २८९/२ नम्बरको मझौला सीमास्तम्भ गाडिएको छ,’ उनले भने, ‘भारततिर परेको ११ कट्ठाभन्दा बढी जग्गा भोगचलन गर्न वञ्चित भएको छु ।’ उनको कित्ता नम्बर ४३४ र ४३५ खेतीयोग्य जग्गा छ । भारततर्फ परेको जग्गाको मालपोत भने नेपाल सरकारलाई नियमित बुझाउँदै आएको उनले बताए ।

यो क्षेत्रमा पछिल्लो पटक २०७६ माघमा सीमा निर्धारण गरिएको थियो । नेपाल–भारत प्राविधिकको टोलीले सीमास्तम्भ नेपालतर्फ अतिक्रमण गरी राखिदिएको स्थानीय बताउँछन् । जसका कारण यहाँका ६० परिवारको खेत भारततिर परेको छ । पहिला नदी नै सिमाना भए पनि बहावले क्षेत्र परिवर्तन गरेपछि राखिएको सीमास्तम्भ ६० मिटरभन्दा बढी नेपालतर्फ च्यापिएको छ । ‘लालपुर्जामा खेत नेपालीको भए पनि सिमानाले भारतीय भूमि बनाइएको छ,’ स्थानीय बबलु यादवले भने, ‘बीच खेतमै स्तम्भ राखिएपछि जोतभोग गर्न भारतीय प्रहरीले रोकेको छ । आफ्नै खेतको अनाज काट्दा भारतीय सुरक्षाकर्मीको धम्की र दुर्व्यवहार सहनुपरेको छ ।’
सिमानामा नयाँ स्तम्भ राख्दा पुस्तौंदेखि खेती गर्दै आएका मुखियापट्टी मुसहरनिया–२ का ६० परिवारको ५० बिघाभन्दा बढी खेत भारतमा परेको उनीहरूको भनाइ छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएकी फियान नेपालका मधेस प्रदेश प्रमुख नन्दनी यादवका अनुसार पाँच पुस्तादेखि भोगचलन गर्दै आएका गाउँलेको खेत भारततर्फ गएपछि ६० मध्ये २६ परिवारले खेतीयोग्य जमिन पूर्ण रूपले गुमाएका छन् ।
यस्तै, चोरापाखर फुलहर घाटमा शिलान्यास गरिएको झोलुंगे पुलको योजना अलपत्र भएको छ । निर्माणमा भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मीले अवरोध गरिरहेका छन् । जमुनी नदीमा पुल बनाउन गाउँपालिकाले ४९ लाख बजेट विनियोजन गरेको थियो । ३२ मिटर लम्बाइको झोलुंगे पुलको निर्माण गर्न एसएसबीले रोकेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष धनवीर यादवले बताए ।
‘सीमा क्षेत्रबाट करिब ५० मिटरभित्र नदीको वारिपारि नेपाली भूमिमा पुल बनाउन निर्माण सामग्री खसालेपछि भारतीय सुरक्षाकर्मीले बनाउनै नदिएर रोकिएको छ,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले सबै कागजात माग गरे, हामीले बुझायौं । कागज बुझाएको महिना दिन भयो, बनाउन दिएका छैनन् ।’
जमुनी खोलाका कारण किसानलाई खेत आवतजावतमा समस्या परेपछि पुलको योजना बनाइएको गाउँपालिका अध्यक्ष मनोज यादवले बताए । ‘पुल शिलान्यास गरे पनि भारतीय पक्षको अवरोधका कारण निर्माण कार्य अगाडि बढाउन सकेका छैनौं,’ उनले भने ।
धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले यसबारे नेपाली सुरक्षा निकायमा जानकारी आएको बताए । उनका अनुसार उक्त पुल निर्माण हुने क्षेत्र भारतीय पक्षले आफ्नो भूमिमा परेको दाबी गरेका छन् । ‘पुल निर्माणको लोकेसन भारतीय पक्षले आफ्नोमा परेको दाबी गरेको छ तर यो विषयमा छलफल भएको छैन,’ उनले भने । सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले पुल निर्माणमा हस्तक्षेपबारे कुनै जानकारी नआएको बताइन् ।
साभार स्रोत-कान्तिपुर अनलाईन बाट





















Discussion about this post