सिरहा/भदौ १८ गते। जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ २० बाट पुनः आलोपालो सेवा प्रवाह गर्ने जनाएको छ । सेवाग्राहीको बढ्दो भीड, कर्मचारी अभाव र कोभिड १९ को जोखम अझै कायम रहेको भन्दै पालिका अनुसारको फरक फरक दिन सेवा प्रवाह गर्ने सूचना जारी गरेको हो ।

नयाँ नागरिकता,नागरिकताको प्रतिलिपि र राहदानी लिन आउनेको चाप बढी भएको भन्दै आलोपालो विधि लागू गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सामाजिक संजाल मार्फत जानकारी दिए ।
आलोपालो विधिअन्तर्गत कर्जन्हा र मिर्चैया नगरपालिकाका सबै वडाका सेवाग्राहीले आइतबार सेवा पाउनेछन् भने सोमबार कल्याणपुर नगरपालिका र लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीले सेवा पाउनेछन् ।
मंगलबार गोलबजार नगरपालिका, अर्नामा र नरहा गाउँपालिकाका सबै वडा, बुधबार धनगढीमाई नगरपालिकाका १२, १३, १४ नम्बरबाहेक सबै वडा, सुखिपुर नगरपालिकाका सबै वडा र विष्णुपुर गाउँपालिकाका वडाका सेवाग्राहीले सेवा पाउने सूचनामा उल्लेख छ ।
बिहीबार सिरहा नगरपालिकाका सबै वडा,शुक्रबार भने औरही, बरियारपट्टी र नवराजपुर गाउँपालिकाको १ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
तोकिएको दिन बिदा पर्न गएमा भोलि पल्ट सेवाको लागि सम्पर्क गर्न अनुरोध गरिएको छ । र तोकिएको दिन बाहेक अन्य दिनमा जाने सेवाग्राहीले सेवा नपाउने प्रशासनले जनाएको छ । तर, बिधार्थीका हकमा भने यो व्यवस्था लागु हुनेछैन जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

















Discussion about this post