सप्तरी/भदौ ८ गते।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६९५६ नम्बर तेल ट्यांकर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा ट्रक चालक सुनसरी रामधुनि इकराही नपा–४ बस्ने आशाराम चौधरीकी नौ वर्षीय छोरी मेनुका चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनामा ट्रक चालक ४५ वर्षीय आशाराम चौधरी, निजकी ४० वर्षीया श्रीमती चन्द्रकाला थारुनी र निजका छोरा आशिष चौधरी घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएको छ भने ट्रक र टयाङ्करलाई प्रहरीले नियन्त्रणमा राखेको छ । टयाङ्कर चालक तत्काल फ रा र भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post