जनकपुरधाम/असोज २३ गते। सामाजिक सेवा र मानवताको भावनालाई आत्मसात् गर्दै जनकपुरधाममा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन्।
लायन्स क्लब अफ जनकपुरधामको आयोजनामा तथा लियो क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम क्यापिटल र लियो क्लब अफ जनकपुरधाम मेडिकोसको सहयोगमा जनकपुरधामस्थित एमआईएचएस, मणिपालमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदान गरी मानवीय सेवामा योगदान दिएका थिए। रक्तदानबाट संकलित रगतले आवश्यकतामा परेका बिरामीलाई उपचारका क्रममा सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन्।
कार्यक्रममा मधेश रक्त सञ्चार सेवाले प्राविधिक सहयोग प्रदान गरेको थियो। आयोजकले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, लियो–लायन्स सदस्य, युवा तथा समुदायका सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्।
रगतको अभावमा बिरामीले उपचारमा समस्या भोग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न नियमित रक्तदान आवश्यक रहेको सन्देशसहित कार्यक्रम आयोजना गरिएको हो। रक्तदानले दुर्घटनामा परेका व्यक्ति, शल्यक्रिया गराउनुपर्ने बिरामी तथा अन्य आवश्यकतामा परेका व्यक्तिको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।
“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देशका साथ आयोजित कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवीय सेवा र स्वयंसेवी भावनालाई प्रोत्साहन गरेको आयोजकले जनाएका छन्।
















Discussion about this post