जनकपुरधाम/असोज १३ गते। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले सञ्चार माध्यमका लागि विनियोजित लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगरी पूर्ण रूपमा कार्यान्वयन गर्न मधेश प्रदेश सरकारसँग माग गरेको छ ।
महासंघले मंगलबार मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सञ्चार क्षेत्रमा आर्थिक संकट बढिरहेका बेला लोककल्याणकारी विज्ञापनको बजेट कटौती गर्दा सञ्चार माध्यम थप प्रभावित हुने जनाएको हो ।
सरकारी विज्ञापनमा आएको कमी तथा आम्दानी घटेका कारण पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यम आर्थिक दबाबमा रहेको महासंघले उल्लेख गरेको छ ।
लोकतन्त्र, गणतन्त्र र संघीयताको स्थापनादेखि सामाजिक रूपान्तरणसम्म सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महासंघले सञ्चार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि लोककल्याणकारी विज्ञापनको बजेट पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
महासंघका अनुसार चालु आर्थिक वर्षमा लोककल्याणकारी विज्ञापनका लागि बजेट शीर्षक नम्बर २२५२२ अन्तर्गत ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, वित्तीय समायोजनका नाममा उक्त बजेटको ५० प्रतिशत रोक्का गरिएपछि ३५ लाख रुपैयाँ मात्रै खर्च गर्न सकिने अवस्था सिर्जना भएको छ ।
महासंघले विनियोजित बजेटमा गरिएको कटौतीले सञ्चार माध्यमको आर्थिक अवस्था थप कमजोर बनाउने भन्दै रोक्का गरिएको रकमसमेत उपलब्ध गराई लोककल्याणकारी विज्ञापनको बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न मधेश प्रदेश सरकारसँग आग्रह गरेको छ ।















Discussion about this post