जनकपुरधाम/असोज १२ गते। विजयदशमीलाई लक्षित गर्दै यस वर्ष पनि जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा दशैँ बजार सञ्चालन हुने भएको छ। जनकपुरधाममा लाग्ने दशै बजार घटस्थापनाभन्दा एक दिनअघि उद्घाटन गर्ने तयारी गरिएको छ।
दशैँ बजार सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार दशैँ बजारमा दैनिक उपभोग्य वस्तुका साथै चाडपर्वका लागि आवश्यक विभिन्न सामग्री एउटै स्थानबाट सुपथ तथा सुलभ मूल्यमा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
आर्थिक मन्दीका कारण व्यापारिक गतिविधि प्रभावित भइरहेका बेला दशैँ बजारले जनकपुरधामको बजारलाई चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गरे।
‘अहिले जनकपुरधामको बजार मात्र होइन, पूरै नेपाल आर्थिक मन्दीको अवस्थामा छ। यो दशैँ बजारबाट जनकपुरधामको बजार चलायमान बनाउन मद्दत पुग्नेमा विश्वस्त छु,’ उनले भने।
दशैँ बजारमा स्टल राख्ने व्यवसायीले आफ्ना सामानको मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने संघले जनाएको छ। मूल्यसूची राख्दा उपभोक्ताले सामानको मूल्यबारे स्पष्ट जानकारी पाउनुका साथै बजारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताए।
संघले यस वर्षको दशैँ बजारलाई विगतका वर्षभन्दा थप व्यवस्थित बनाउने तयारी गरेको छ। उपभोक्तालाई सहज हुने गरी आवश्यक सुविधाहरू थप गर्ने र बजार व्यवस्थापनमा विशेष ध्यान दिने संघको योजना छ।
यसअघि अष्टमीसम्म मात्र सञ्चालन हुँदै आएको दशैँ बजारलाई यस वर्ष भने विजयदशमीसम्म निरन्तरता दिने तयारी गरिएको छ। दशैँका बेला उपभोक्ताको चाप बढ्ने भएकाले आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित बजार सञ्चालनको तयारी भइरहेको संघले जनाएको छ।














Discussion about this post