काठमाडौं/असोज १२ गते। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले विशिष्ट व्यक्तिहरूलाई बिना कारण पक्राउ गर्ने दुस्साहस गरिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।
उहाँले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको हो भने त्यो सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो । आगामी दिनमा यस्ता घटना नदोहोर्याउन पनि उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
कसैलाई सुरक्षा खतरा रहेको भए पक्राउ गर्नुको सट्टा घरमै सुरक्षाकर्मी थपेर सुरक्षा व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ थियो ।
‘यही तरिकाले सरकार चलाउने कोसिस र दुस्साहस भइरह्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्न चाहन्छु । यस्तो घटना नदोहोर्याउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।
जबराको पक्राउलाई लिएर सुरक्षा खतरा देखाइएको विषयमा प्रश्न उठाउँदै उहाँले भन्नुभयो, ‘सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो भन्ने कुरा लाटो मान्छेले पनि बुझेको छ । यदि त्यसो हो भने सुरक्षा बढाइदिने हो नि ।’
उहाँले जबरालाई पक्राउ गरेर छाड्नुको वास्तविक कारण विस्तारै बाहिर आउने बताउनुभयो । ‘सरकारले छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ उहाँले भन्नुभयो ।
यसैबीच, संयोजक दाहालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधन मुलुकले भोगिरहेको समस्याका हिसाबले स्वाभाविक रहेको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री शाहको सम्बोधनलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न नहुने उहाँको भनाइ थियो । उहाँले प्रधानमन्त्री शाहको स्थानमा अन्य व्यक्ति गएको भए पनि नेपालको समस्याबारे त्यस्तै विषय उठ्ने बताउनुभयो ।














Discussion about this post