रौतहट/असोज ११ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा खेतमा बिछ्याइएको विद्युत्को नाङ्गो तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नन्टुन पासवानका छोरा आयुष पासवान छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे स्थानीय हिरेन्द्र राउतको खेतमा मोटरबाट पानी लगाउन जडान गरिएको विद्युत्को नाङ्गो तारमा खेतमा डुलिरहेका आयुष परेका थिए। करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पर्साबाट सई अजयकुमार रामको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट इन्स्पेक्टर रुपेश अधिकारीको कमाण्डमा थप टोली घटनास्थल पठाइएको प्रहरीले जनाएको छ।
सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी वेदप्रसाद गौतमले खेतमा पानी लगाउने प्रयोजनका लागि जडान गरिएको विद्युत्को नाङ्गो तारमा परेर बालकको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए।
उनका अनुसार घटनास्थल सुरक्षित राखेर विद्युत् जडानको अवस्था, तार खुला राखिएको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको छ।
प्रहरीले विद्युत् प्रवाह भइरहेको तार खुला अवस्थामा रहनु दुर्घटनाको प्रारम्भिक कारण देखिए पनि घटनाको वास्तविक अवस्था अनुसन्धानपछि स्पष्ट हुने जनाएको छ।















Discussion about this post