जनकपुरधाम/असोज ८। बुधवार राति देखी जनकपुरधाम सहित देशका विभिन्न स्थानमा परेको लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ। मनसुनी वायु, पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण देशभर बदलीसँगै वर्षा भइरहेको हो।
वर्षाका कारण सडकमा मानिसको आवतजावत घटेको छ। झरीका कारण दैनिक कामकाज तथा यातायातसमेत प्रभावित भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भूभागमा बदली रहेको छ। सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरी उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा समेत परेको महाशाखाले जनाएको छ।
बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरो र सडक अवरोधको जोखिम बढेको छ। यसले गर्दा यातायात तथा दैनिक आवतजावतमा थप समस्या आउन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले विशेषगरी भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा नदी तथा खोलाको आसपास र पहाडी सडकमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।















Discussion about this post