हैदारावाद/साउन २४ गते। चलचित्र उद्योगमा अभिनेता र अभिनेत्रीहरू सधैं चर्चाको केन्द्रमा रहन्छन्। यद्यपि, नकारात्मक भूमिका निर्वाह गर्ने कलाकारहरूले कहिलेकाहीँ आफ्नो उत्कृष्ट अभिनयमार्फत यस्तो प्रभावशाली छाप छोड्छन् कि उनीहरूले चलचित्रका मुख्य अभिनेताभन्दा पनि बढी चर्चा बटुल्न सफल हुन्छन्।
अभिनेता फहाद फासिलले ‘पुष्पा’ र ‘पुष्पा २’ चलचित्रमार्फत ठ्याक्कै यस्तै प्रभाव पारेका थिए। फहाद फासिलले आफ्नो अभिनय यात्रामा धेरै उत्कृष्ट चलचित्रहरूमा काम गरेका छन्। यद्यपि, अल्लु अर्जुनका चलचित्रहरू ‘पुष्पा’ र ‘पुष्पा २’ ले उनलाई सबैभन्दा बढी लोकप्रियता दिलाए। उनको जीवनमा एउटा यस्तो समय पनि थियो जब उनले अभिनय छोडेर निराश भइ अमेरिका भासिएका थिए। आउनुहोस्, जानौं कि कुनै समय अभिनय छोडि सकेका फहाद कसरी दक्षिण भारतीय चलचित्र जगतका सबैभन्दा लोकप्रिय र खतरनाक खलनायकका रूपमा उदाए ?
फहाद फासिलले आफ्नो ४४औँ जन्मदिन मनाईरहेका छन्। उनको जन्म सन् १९८२ को अगस्ट ८ मा केरलाको अलाप्पुझामा भएको थियो। उनका बुबा फाजिल एक प्रख्यात चलचित्र निर्माता निर्देशक हुन्। फाजिलले नै आफ्ना छोरालाई चलचित्र उद्योगमा प्रवेश गराएका थिए, यद्यपि उनको पहिलो चलचित्रले भने खासै सफलता पाउन सकेन। फहादको पहिलो चलचित्र ‘काइयेथुम दुरथ’ थियो, जसमा उनको पात्रको नाम सचिन थियो।
यो मलयालम चलचित्र प्रदर्शनमा आउँदा फहाद जम्मा १९ वर्षका थिए। उनले यसमा अभिनेत्री निकिता ठुकरालसँग अभिनय गरेका थिए। यद्यपि, दर्शकहरूले ठूलो पर्दामा उनीहरूको जोडीलाई रुचाएनन् र फहाद आफैँ पनि दर्शकद्वारा अस्वीकृत भएका थिए । चलचित्रको असफलताले उनी निकै निराश भए।
आफ्नो पहिलो चलचित्रको असफलताबाट गहिरो प्रभावमा परेका फहादले एउटा कठोर निर्णय लिए, उनी आफ्नो परिवार र देश छोडेर संयुक्त राज्य अमेरिका गए। विदेशमा केही वर्ष बिताए पछि उनी भारत फर्किए र ‘केरल क्याफे’ चलचित्रमार्फत चलचित्र उद्योगमा पुनरागमन गरे। सन् २००९ मा प्रदर्शनमा आएको यस चलचित्रमा दर्शकहरूले उनलाई निकै रुचाए।
चलचित्र उद्योगमा फहादको पुनरागमन सफल रह्यो र त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन। सन् २०११ मा रिलिज भएको चलचित्र ‘छाप्पा कुरुशु’ मार्फत उनले आफ्नो लागि एक विशिष्ट पहिचान बनाए। त्यसयता, ‘२२ फिमेल’, ‘कोट्टायम’, ‘रोल मोडेल्स’, ‘कार्बन’, ‘सुपर डिलक्स’, ‘डायमण्ड नेकलेस’, ‘डी कम्पनी’र ‘टेक अफ’ जस्ता चलचित्रहरू मार्फत उनले मलायालम चलचित्र उद्योगमा व्यापक लोकप्रियता हासिल गरे।
फहाद फासिल मुख्यतया ‘पुष्पा’ र ‘पुष्पा २’ चलचित्रका लागि परिचित छन्। अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहेको सन् २०२१ को चलचित्र ८पुष्पा८ मा उनको भूमिका छोटो भए तापनि उनले त्यो छोटो समयमै निकै ठूलो प्रभाव पार्न सफल भए । उनले त्यसको भरपर्दो प्रतिफल दिँदै चलचित्रको सिक्वेलमा सशक्त अभिनय प्रस्तुत गरे।
सन् २०२१ को चलचित्र ‘पुष्पा’ र ‘पुष्पा २’ मा फहादले इन्स्पेक्टर भंवर सिंह शेखावतको भूमिका निभाएका थिए। टुटेफुटेको हिन्दी र हरियाणवी भाषाको मिश्रित शैलीमा संवाद बोल्दै उनले दर्शकको मन जिते भने अभिनय कौशलका मामिलामा अल्लुको बराबरीमा उभिए। सबैले उनको सशक्त अभिनय र उनको पात्रले पारेको प्रभावलाई स्वीकार गरे।
‘पुष्पा’ ब्लकबस्टर साबित भयो भने सन् २०२४ मा रिलिज भएको ‘पुष्पा २’ सर्वकालीन ब्लकबस्टरका रूपमा उदाायो। यसले विश्वभरि १ हजार ७४२ करोड रुपैयाँको ऐतिहासिक कमाइ गर्दै बक्स अफिसमा तहल्का मच्चायो। यस चलचित्रमार्फत फहाद फासिलले विश्वभरी नै ख्याति कमाए।
एक अन्तर्वार्तामा ती अभिनेताले खुलासा गरेका थिए कि निर्देशक सुकुमारन, जो उनको कामबाट पहिले नै प्रभावित थिए, ले उनलाई यस चलचित्रका लागि प्रस्ताव गरेका थिए। कथा सुनेपछि उनी तुरुन्तै यस परियोजनामा काम गर्न सहमत भए।
‘पुष्पा’ र ‘पुष्पा २’ को बीचमा रिलिज भएको चलचित्र ‘आवेशम’ मा पनि फहादको निकै प्रशंसा गरियो, यो चलचित्र बक्स अफिसमा सुपरहिट साबित भयो। उनको व्यक्तिगत जीवनको कुरा गर्दा यी अभिनेताले सन् २०१४ मा अभिनेत्री नजरिया नाजिमसँग विवाह गरे। यो जोडीको प्रेम कहानी सन् २०१३ मा चलचित्र ‘बैंगलोर डेज’ को सुटिङका क्रममा सुरु भएको थियो र उनीहरूको सम्बन्ध छिट्टै विवाहमा परिणत भयो।















Discussion about this post