बैग्लरू/असार ३१ गते। भारतको कर्नाटकको चिक्काबल्लापुर सहरमा एउटा अनौठो घटना सार्वजनिक भएको छ ।
जहाँ अदालतमा कालो जादु गरेको आरोपमा ६५ वर्षीया महिला पक्राउ परेकी छिन्। उनले न्यायाधीशको कुर्सीमा बसेर कालो जादुसम्बन्धी विधि गरिरहेको दृश्य सीसीटीभी फुटेजमा कैद भए पछि उनी पक्राउ परेकी हुन् ।
पक्राउ पर्ने महिलाको नाम मन्जुला रहेको खुलेको छ। उनले चिक्काबल्लापुर जेएमएफसीअदालतका प्रथम अतिरिक्त वरिष्ठ सिभिल न्यायाधीशको कुर्सीमा बसेर उक्त विधि गरिरहेकी थिइन्। उनले यस्तो कार्य गर्नुको कारण भने अझै खुल्न सकेको छैन।
भारतीय समाचार संस्थाका अनुसार प्रहरीले जनाए अनुसार सीसीटीभी फुटेजमा ती महिलाले न्यायाधीशको कुर्सीमा सेतो तोरीको दाना छर्किरहेको देखिएको थियो। प्रहरीले उक्त घटना दुई दिन अघि भएको बताएको छ। फुटेज हेरे पछि अदालतका प्रमुख प्रशासकीय अधिकृत नेत्रले प्रहरीमा उजुरी दर्ता गराए। अनुसन्धानपश्चात् प्रहरीले आरोपित महिला मन्जुलालाई पक्राउ गरेको छ ।
यस घटनामा प्रहरीले आरोपित महिलाविरुद्ध मुद्दा दर्ता गरेको छ। यो मुद्दा ‘कर्नाटक मानव कुरीति तथा कालो जादु रोकथाम तथा उन्मूलन ऐन, २०१७’ अन्तर्गत दर्ता गरिएको हो। अदालतले आरोपित महिलालाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ।















Discussion about this post