धनुषा/असार १७ गते । एचआईभी संक्रमित व्यक्तिमाथि हुने सामाजिक लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय धनुषाले जनकपुरधाममा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एचआईभी संक्रमित व्यक्तिको अधिकार संरक्षण, स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने, सामाजिक विभेद अन्त्य गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरेका थिए। साथै, एचआईभीबारे समाजमा रहेका भ्रम र गलत धारणालाई वैज्ञानिक तथ्यका आधारमा हटाउनुपर्नेमा जोड दिइएको थियो।
स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जिल्लामा पछिल्लो समय एचआईभी संक्रमणका घटना बढ्दो क्रममा रहेकाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार ग्रामीण क्षेत्रमा शिक्षा तथा जनचेतनाको कमी र वैदेशिक रोजगारीमा जाने नागरिकको संख्या बढी भएकाले संक्रमणको जोखिम पनि उच्च रहेको छ।
उनले एचआईभी संक्रमितप्रति समाजमा अझै पनि विभेदपूर्ण व्यवहार कायम रहेकाले त्यसको अन्त्यका लागि सरकारी निकाय, स्थानीय तह, नागरिक समाज र समुदायबीच समन्वयात्मक प्रयास आवश्यक रहेको उल्लेख गरे।
प्रमुख यादवले जनकपुरधामका केही होटल तथा रेस्टुरेन्टलाई समेत जनचेतना अभियानमा सहभागी गराउने योजना रहेको जानकारी दिँदै आगामी दिनमा होटल तथा रेस्टुरेन्ट व्यवसायीसँग सहकार्य गरेर संक्रमण नियन्त्रण र सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए।
स्वास्थ्य कार्यालय धनुषाले यस्ता अभिमुखीकरण कार्यक्रमले एचआईभी संक्रमित व्यक्तिप्रति सम्मानजनक व्यवहारको वातावरण निर्माण गर्न, सामाजिक लाञ्छना कम गर्न तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहाललगायतले एचआईभी संक्रमित व्यक्तिको अधिकारको संरक्षण र विभेदमुक्त समाज निर्माणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका थिए।





















Discussion about this post