धनुषा/असार ३ गते। बाल अधिकारको क्षेत्रमा कार्यरत नागरिक समाज संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुईदिने “बाल अधिकार कार्यक्रम तथा अनुगमन विषयक तालिम” सम्पन्न भएको छ।
सबल नेपाल, राजविराज सप्तरी तथा मधेश प्रदेशको आयोजनामा र बाल अधिकारका लागि नागरिक समाज संस्था सञ्जाल, मधेश प्रदेशको समन्वयमा असार १ र २ गते तालिम सञ्चालन गरिएको हो। तालिमको मुख्य उद्देश्य बाल अधिकार कार्यक्रमसम्बन्धी बुझाइलाई सुदृढ बनाउनुका साथै नैतिक तथा सार्थक बाल सहभागिता, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषयमा सहभागीहरूको ज्ञान र सीप अभिवृद्धि गर्नु रहेको थियो।
त्यस्तै, बाल अधिकार अनुगमनका प्रक्रिया, उपकरण, प्रभावकारी तथा नैतिक अभ्यास र प्रमाणमा आधारित अनुगमनसम्बन्धी ज्ञान तथा सीप विकासमा समेत तालिम केन्द्रित रहेको आयोजकले जनाएको छ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा सम्पन्न तालिममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश, इन्सेक मधेश प्रदेश, सहयोगी समाज नेपाल तथा आयोजक संस्थाका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए।
तालिममा मधेश प्रदेशका आठवटै जिल्लामा बालबालिकाको क्षेत्रमा कार्यरत नागरिक समाज संस्थाका २७ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश बाल सञ्जालकी कल्पना साह, प्रदेश बाल सञ्जालका अध्यक्ष निरज कुमार साह, प्रोटेक्सन नेपाल रौतहटका सुनिल पण्डित, डीडीएफ सिरहाकी सरिता महरा, नागरिक समाज संस्था सञ्जालका सचिव देवकुमारी महरा तथा खेलकुद तथा समाज कल्याण मन्त्रालयका महाशाखा प्रमुख निर्मला मिश्रले आफ्नो सिकाइ, सुझाव, मार्गनिर्देशन तथा प्रतिबद्धता व्यक्त गरेका थिए।
समापन समारोहमा प्रमुख अतिथि निर्मला मिश्रले बाल अधिकार संरक्षण तथा प्रवर्द्धनमा सरकारी तथा गैरसरकारी निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। अध्यक्ष जुना गिरीले सहभागीहरूले हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै बाल अधिकार सुनिश्चितताका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै तालिमको औपचारिक समापन घोषणा गरे।
आयोजकका अनुसार तालिमले मधेश प्रदेशमा बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा प्रभावकारी अनुगमनका लागि नागरिक समाज संस्थाहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





















Discussion about this post