सप्तरी/बैशाख ३० गते। तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुलाकी एक महिला मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ ।
स्थानीय छोटु भनिने वीरेन्द्र रायकी पत्नी अनितादेवी राय बुधबार सोही क्षेत्रको ‘नौ किलोमिटर’ नजिक कोशी नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीले शव सडेगलेको अवस्थामा भेटिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरी का अनुसार शव हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा ढुंगा प्रहार गरी हत्या गरिएको हुनसक्ने आशंका गरेको जनाएको छ ।
अनिता गत बुधबार रातिदेखि सम्पर्कविहीन भएकी थिइन् । सो रात गाउँमा छिमेकीको विवाह समारोह रहेका कारण अधिकांश स्थानीय जन्तीमा व्यस्त थिए । परिवारका अनुसार उनी घरमै एक्लै थिइन् ।
प्रहरीका अनुसार उनी हराएको रात घरको आँगनमा रगतसमेत भेटिएको थियो । घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ । मृतकका पति वीरेन्द्र राय वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् । अनिताकी दुई छोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षकी रहेको बताइएको छ ।
घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post