धनुषा/फागुन १२ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा मनिष झाले घरदैलो अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका झाले जनकपुरधाम उपमहानगरपालिका–५ र ७ मा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका हुन्।
सोमबार विभिन्न वडामा पुगेर स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उनले विकास, सुशासन र पारदर्शितालाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको बताए। शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पुरानै शैलीको राजनीतिले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे।
झाले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि तथा साना व्यवसाय प्रवर्द्धन गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा नीतिगत पहल गर्ने योजना अघि सारे। परिवर्तनको एजेण्डा व्यवहारमै कार्यान्वयन गरिने उनको भनाइ थियो।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले खानेपानी समस्या, सडक स्तरोन्नति, फोहोर व्यवस्थापन तथा स्वास्थ्य सेवामा सहज पहुँचका विषय उठाएका थिए। ती मुद्दालाई योजनाबद्ध ढंगले सम्बोधन गर्ने आश्वासन उनले दिए।
यसैबीच, सोमबार जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नीम चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी १ सय ५० भन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई उम्मेदवार झाले स्वागत गर्दै संगठन सुदृढीकरणसँगै जनतामुखी राजनीति अघि बढाइने बताएका छन्।














Discussion about this post