धनुषा/फागुन ९ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले आफूले अघि सारेका विकास योजनालाई पूरा गर्न मतदाताले पुनः अवसर दिने विश्वास व्यक्त गरेकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार महतोले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवा र वडा नम्बर १५ रामपुरमा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीयसँग भेटघाट गरेकी थिइन् । सो क्रममा उनले कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना भएकाले केही महत्वपूर्ण योजना अधुरै रहेको उल्लेख गर्दै ती योजनाहरू सम्पन्न गर्न मतदाताको साथ आवश्यक रहेको बताइन् ।
घरदैलो अभियानका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको दाबी गर्दै महतोले पूर्वाधार, पर्यटन तथा औद्योगिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । विकासका लागि दीर्घकालीन सोच र स्पष्ट नीति आवश्यक पर्ने उल्लेख गर्दै उनले नयाँ राजनीतिक दलहरूले पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोपसमेत लगाइन् ।
संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको सवालमा एमाले सधैं अग्रसर रहेको जिकिर गर्दै उनले मतदाताले पार्टीको भूमिकालाई मूल्यांकन गर्ने विश्वास व्यक्त गरिन् । महतोले एमाले नेतृत्वको सरकारका पालामा मधेस क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अघि बढाइएको उल्लेख गरिन् ।
उनका अनुसार ती योजनामध्ये नेपाल रेल्वेको स्तरोन्नति, सुनकोशी–मरिन–कमला डाइभर्सन आयोजना तथा जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजना प्रमुख रहेका छन् । उक्त कार्यक्रमबारे मतदाता जानकार रहेको दाबी गर्दै आगामी निर्वाचनमा पुनः एमालेप्रति समर्थन देखिने विश्वास उनले व्यक्त गरिन् ।














Discussion about this post