माघ ७ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा ७० प्रतिशत मत प्राप्त गरी विजय हासिल गर्ने दाबी गरेका छन्। कांग्रेस कमजोर अवस्थामा रहेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै मत हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उनले कुल खसेको मतको दुई तिहाइभन्दा बढी मत एमालेले प्राप्त गर्ने बताए।
बुधबार झापाको कमल गाउँपालिकामा कार्यकर्तासँगको भेटमा अध्यक्ष ओलीले विकास, रूपान्तरण र जनआधारका कारण सिंगो क्षेत्र एमालेको पक्षमा एकढिक्का रहेको बताए। साथै, अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने समय आएको उनले उल्लेख गरे।
गत भदौमा भएको आन्दोलनको सन्दर्भ उठाउँदै अध्यक्ष ओलीले राजनीतिक आन्दोलनभन्दा बढी आपराधिक गतिविधि भएको बताए। आन्दोलनका क्रममा केही व्यक्तिको मृत्यु भए पनि अधिकांश मृत्यु आपराधिक गतिविधिका कारण भएको उनको भनाइ थियो।
“हामीले भनेअनुसार चल्नुपर्छ भन्दै दबाब दिनेहरू पनि आउलान्,” उनले भने, “त्यस्तो दबाब स्वीकार्य हुँदैन।” कांग्रेस–एमाले मिल्न नदिने र देशमा विदेशी प्रभाव बढाउन खोज्ने शक्तिहरू सक्रिय रहेको भन्दै उनले अस्थिरताको खेती गर्नेहरूबाट देशलाई जोगाउनुपर्ने आवश्यकता औँल्याए।
“नगरपालिका किन जलाइयो, व्यवसायिक कम्प्लेक्स किन जलाइयो ?” उनले प्रश्न गर्दै भने, “दमक नमुना सहरका रूपमा विकास भइरहेको छ। ती संरचनालाई भ्यू टावर होइन, आईटी हबका रूपमा विकास गर्न सकिन्थ्यो। देश जलाएर, जनता आतङ्कित पारेर विकास सम्भव हुँदैन।”
दमक, कमल, गौरादह, गौरीगञ्जलगायत क्षेत्रमा भएका विकास र प्रगतिहरू सबैका आँखाअगाडि स्पष्ट रहेको उनले बताए। यस क्षेत्रका लागि कुनै योगदान नगरेकाहरूबाट केही हुन नसक्ने दाबी गर्दै उनले नदी कटान नियन्त्रण, बाँध निर्माण, पुल–सडक, विद्यालय भवन, विद्युतीकरण, खानेपानी तथा स्वास्थ्य क्षेत्रलगायतमा भएको विकासबारे जनतालाई जानकारी गराउन कार्यकर्तालाई आग्रह गरे।
दमकमा अपाङ्गता भएका व्यक्तिलाई अपमान गर्ने प्रवृत्तिबाट जोगाउँदै विकासका कामलाई थप तीव्रता दिन जरुरी रहेको उनले बताए। सुकुम्बासी बस्तीमा डोजर चलाउनेहरूले भूमिहीन नागरिकको व्यवस्थापन कसरी गर्ने भन्ने नबुझेको उल्लेख गर्दै विपन्न आवास कार्यक्रम तथा एकीकृत बस्ती विकास योजनाबाट धेरै नागरिकले घरबास पाएको उनले स्मरण गराए।
रङ्गशाला निर्माणको सन्दर्भमा उनले केहीले भाषण गरेर काम भाँडेको आरोप लगाए। फागुनको निर्वाचनपछि अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गरिने पनि उनले बताए।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यस क्षेत्रका विभिन्न पालिकाका वडा–वडा तहका मतदाता र कार्यकर्तासँग अलग–अलग भेटघाट गरिरहेको नेकपा एमालेले जनाएको छ।





















Discussion about this post