मङ्सिर ४ गते। मधेस प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सभामुख रामचन्द्र मण्डल पदमुक्त भएको भोलिपल्ट आज (बिहीबार) का लागि बोलाइएको बैठक अन्तिम समयमा अर्को सूचना नआएसम्मका लागि रोकिएको प्रदेश सभा सचिवालयले जनाएको हो।
बुधबारसभामुख मण्डललाई पदमुक्त गरिएपछि आजको बैठक महत्वपूर्ण मानिएको थियो। तर मण्डलले आफ्नो निलम्बन असंवैधानिक र प्रक्रियागत त्रुटिपूर्ण भएको दाबी गर्दै पनि अदालत नजान्ने स्पष्ट गरेपछि अब नयाँ सभामुख चयन प्रक्रियातर्फ चरण अघि बढ्ने संकेत मिलेको छ। नयाँ सभामुखका लागि नेपाली कांग्रेसले दाबी गर्दै आएको छ। सात दलबीच चलिरहेको छलफल भने निष्कर्षमा नपुगेको कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले बताए।
यता जसपा नेपालका प्रमुख सचेतक रामशिष यादवले प्रदेश सरकारसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सदन सञ्चालन उपयुक्त नठानिएको र प्रदेश सभासँग बिजनेस पनि नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित गर्ने सहमति भएको दाबी गरे।
प्रदेश सभा सचिवालयका अनुसार हाल प्रदेश सभा अस्तव्यस्त अवस्थामा रहेको छ भने कर्मचारी अभावका कारण पनि बैठक सञ्चालनमा कठिनाइ देखिएको छ।




















Discussion about this post