जनकपुरधाम/असोज १७ गते। जनकपुरधाम उपमहानगरपालिकाले अव्यवस्थित रूपमा व्यापारीहरूले कब्जा गरेका फुटपाथ खाली गर्ने अभियान सुरु गरेको छ।
शुक्रवार बिहान १० बजेदेखि नगर प्रहरीको टोली रेल्वे स्टेसनदेखि भानुचोकसम्मको क्षेत्रमा सक्रिय भई स्पिकरमार्फत व्यापारीलाई आफ्नो सटरभित्र सामान राख्न आग्रह गरेको थियो। मेयर मनोज साहका अनुसार, फुटपाथ पैदल यात्रुहरूको सहज आवागमन र नगरको सौन्दर्यका लागि निर्माण भए पनि व्यापारीहरूले यसको दुरुपयोग गर्दै सर्वसाधारणलाई जोखिमपूर्ण रूपमा सडकमा हिँड्न बाध्य बनाएका छन्।
नगर प्रहरीको अनुगमनमा कतिपय व्यापारीहरूले सटर हुँदा समेत फुटपाथमा सामान राखेको, बाइक, साइकल र ठेला राखेर पूर्ण कब्जा गरेको देखिएको छ। मेयर साहले चेतावनी दिए कि शनिबारदेखि कुनै पनि अव्यवस्थित सामान जफत गरिनेछ र आवश्यक परे कानुन बमोजिम कारवाही गरिनेछ।
विद्यापतिचोक, रामचोक, जनकचोक, शिवचोक र भानुचोकलगायतका क्षेत्रमा पनि फुटपाथ कब्जा गरेर पसल सञ्चालन गर्ने प्रवृत्ति बढेपछि सडकमा अनावश्यक ट्राफिक जाम हुने गरेको प्रहरीको भनाइ छ। स्थानीयवासी र सरोकारवालाले दीर्घकालीन समाधानका लागि उद्योग वाणिज्य संघ, ट्राफिक कार्यालय र उपमहानगरपालिकाबीच समन्वय आवश्यक रहेको बताएका छन्।














Discussion about this post