जनकपुरधाम/भदौ २९ गते। जेनजी पुस्ताको आन्दोलनपछि प्रभावित जनकपुरधामको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। लामो समयदेखि अवरुद्ध सार्वजनिक सेवा क्रमशः सञ्चालनमा फर्किएका छन्।
आन्दोलनका कारण बन्द रहेको नेपाल रेल्वे सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ। रेल्वे कम्पनीका सहायक केवलबहादुर नेपालीका अनुसार, भारतमा सर्भिसिङ गरेर ल्याइएको रेल आइतबार बिहान ११ बजे जयनगरबाट जनकपुरधाम आइपुगेको हो। अबदेखि तीन वटा समयतालिका अनुसार रेल सञ्चालन हुने र पहिलेझैं नियमित सेवा उपलब्ध हुने उनले जानकारी दिए।
यस्तै, आन्दोलनकै कारण रोकिएको बस सेवा पनि पुनः सुरु भएको छ। बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीका अनुसार, सुरक्षाका कारण सेवा अवरुद्ध गर्नुपरेको भए पनि अवस्था सामान्य भएपछि बस सञ्चालनमा ल्याइएको हो। “यात्रुहरूलाई सहज बनाउन हामीले पुनः सेवा सुरु गरेका हौं,” उनले बताए।
शिक्षा क्षेत्रमा पनि सुधार देखिन थालेको छ। लामो समयदेखि बन्द रहेका विद्यालय सोमबारदेखि सञ्चालनमा आउने भएका छन्। एन प्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरका अनुसार, निरन्तर बन्दका कारण विद्यार्थीहरूको पढाइ प्रभावित भएकाले पठनपाठन पुनः सुरु गर्ने तयारी गरिएको हो।














Discussion about this post