भदौ २६ गते। जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त राउतले वर्तमान संसद्लाई नै कायम राखेर अन्तरिम सरकार बनाई निर्वाचन गराउनेतिर लाग्नुपर्ने बताएका छन् । जेन–जीहरुले कसैको उक्साहटमा संविधान र संसद्लाई भंग गर्नेतिर लाग्यो भने अर्को १० वर्ष संविधान बनाउनका लागि समय लाग्ने बताएका छन् । ‘अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसदलाई नै कायम रहन दिई (भलै हामी त्यहाँबाट राजीनामा दिइसकेका छौं, तैपनि भनिराखेका छौं) निर्वाचन गराउने तिर लाग्नु पर्दछ। ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधि सभा पाइ हाल्नुहुन्छ । त्यसैले अहिले रिक्तता सृजना नगरौं,’– उनले भनेका छन् ।
साथै, उनले जेन–जीहरुको आन्दोलनको पर्दा पछाडि धेरैले अवसरको दुरुपयोग गरिरहेको पनि बताएका छन् । देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता आफूलाई रहेको पनि उनले बताएका छन् । ‘राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्टभूमि निर्माणको रूपमा लिएका छौं,’– उनले धनेका छन् ।
अहिलेको संक्रमणकालीन स्थितिम संशोधनको आवश्यकता रहेपनि संविधानलाई चलाउने नहुने उनको मत छ । अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद्लाई पनि भंग गर्न नहुने उनले बताएका छन् । अन्यथा देशमा रिक्तता निम्तिने उनले बताएका छन् । दशकौंको आन्दोलन र बलिदानीपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तो सुकै परिस्थितिमा रक्षा गर्न तयार हुनुपर्ने उनको धारणा छ । साथै, उनले अब ध्यान दिनुपर्ने विभिन्न ७ बुँदाहरु उल्लेख गरेका छन् ।
१.कानूनी राज्य (ल एण्ड अर्डर) पूर्णतः स्थापित गर्नु पर्ने्र अस्थिरता, त्रास र डरको माहौल हूँदा पूरै देशको राजधानीको कुना कुनामा मात्रै होइन देशको कुना कुनामा पनि सबैलाई सुरक्षाको प्रत्याभूति गराउने ।
२ नेशनल टास्क फोर्स गठन गर्ने र हरेक परिवारबाट एउटा स्वयंसेवक दिनै पर्ने गरी ड्राफ्टिंग गर्ने र राष्ट्रियदेखि टोलस्तरसम्म पुनर्निमाण, विकास तथा सुशासनका लागि युद्धस्तरमा खटाउने।
३ ट्राइब्यूनल गठन गर्ने र आन्दोलनमा भएको जनधनको क्षति, हिंसा र धूसपैठ आदिको छानबिन गर्ने, विगतका भ्रष्टाचारहरूको छानबिन गर्ने, र भ्रष्टाचार गरेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने। सेट डेट तोकेर त्यसपछाडि भ्रष्टाचार गरे ‘जिरो टोलेरेन्स’ को नीति लिई कडा कारबाही गर्ने।
४ विश्व समुदाय, दातृ(संस्था तथा बहुपक्षीय संगठनहरूको भेला गर्ने र विकास तथा पुनर्निमाणको लागि सहयोग र सहकार्य गर्न अपील गर्ने, गुमेको विश्वासलाई पुनर्स्थापित गर्न राज्यले उत्तरदायित्व लिने गरी सबैको लगानी सुरक्षित रहने सुनिश्चितता गर्ने र लगानी आकर्षित गर्ने ।
५.युद्धस्तरमा टास्क फोर्स र स्वयंसेवक परिचालित भएर पुनर्निमाण र विकासको कार्य थाल्ने
६.उद्योग र रोजगारीको लागि लाग्ने ताकि कतै बेरोज़गारी नै नरहोस् ।
७. (हुनसक्छ) दस वर्षसम्म सबै सम्पत्ति राष्ट्रियकरण गर्ने (आत्तिनु पर्दैन दस वर्षपछि फिर्ता पाउने गरी राज्यलाई दस वर्षसम्म नागरिकले आफ्नो घरजग्गा लिजमा दिएको जस्तो र पैसा पनि आन्तरिक ऋण दिएको जस्तो) र दस वर्षसम्म राज्यले नागरिकको पूर्ण अभिभावकत्व लिने्र नागरिकले खाना कसरी खाने, के लगाउने, कसरी पढाउने, कसरी उपचार गर्ने आदिको कुनै चिन्ता नै न लिनु परोस् र पूर्ण रूपले देशको विकास र निर्माणका लागि युद्ध स्तरमा खट्न सकोस् भनेर।













Discussion about this post