जनकपुरधाम/भदौ १६ गते। बेपत्ता विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बेपत्ता परिवारका सदस्यहरूले आफन्तहरूको सत्य खोजी गरी न्याय दिलाउन माग गरेका छन्।
एडभोकेसी फोरम, ईन्सेक तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा सम्पन्न “सङ्क्रमणकालीन न्यायको वर्तमान अवस्था र पीडितको न्याय” विषयक छलफलमा सहभागीहरूले राज्यले अझैसम्म सत्यतथ्य सार्वजनिक नगर्दा पीडितहरू थप मानसिक यातना भोग्न विवश भएको गुनासो गरे।
महोत्तरीका सोनवाका नागेश्वर यादवले आफ्नो बुबासहित ६ जना बेपत्ता भए पनि राज्यले खोजी नगरेको कारण परिवार अन्योलमा परेको बताए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा ५ जनाको नाम सूचीकृत भए पनि उनका बुबा रामदेव यादवको नाम नपरेको भन्दै पीडितको पीडा सरकारले समयमै नबुझ्नु चिन्ताजनक भएको धारणा राखे।
एडभोकेसी फोरम मधेश प्रदेशका संयोजक अधिवक्ता राज कुमार महासेठका अनुसार बेपत्ता सम्बन्धी आयोगमा देशभरिबाट ३ हजार २ सय ८८ उजुरी दर्ता भए पनि हालसम्म २ हजार ५ सय ५८ जनाको मात्र सूची सार्वजनिक भएको छ। मधेश प्रदेशका ८ जिल्लाबाट १ सय ६१ जना बेपत्ता रहेका छन् भने धनुषाबाट मात्रै ११ देखि १५ जनासम्म बेपत्ता भएको तथ्यांक प्रस्तुत गरे।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय प्रमुख सह–सचिव बुद्धनारायण साहनीले बेपत्ता परिवारलाई राज्यले थकाउने काम गरेको भन्दै अब ढिलाइ नगरी सत्य निरूपण गर्नुपर्नेमा जोड दिए। उनले धनुषाबाट बेपत्ता पाँच जनाको शव उत्खनन गरी न्याय दिएको नजिर रहेको स्मरण गर्दै पीडित परिवारलाई जानकारी दिन ढिलाइ गर्नु नहुने बताए।
पीडित तारा महतोले आयोग पटक–पटक गठन भए पनि काम नगरी कार्यकाल सक्ने प्रवृत्तिले पीडित थप पिडामा परेको बताए। ईन्सेक मधेश प्रदेश संयोजक राजु पासवान र जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले पनि सरकार र आयोगले गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी भई प्रश्न–जिज्ञासा राखेका थिए।














Discussion about this post