गिरिजानन्द साह/जनकपुरधाम/भदौ १३ गते ।
मधेशी स्वास्थ्यकर्मी फोरम,मधेश प्रदेशको दोस्रो महाधिवेशन शनिबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फोरम मधेश प्रदेशका अध्यक्ष विनोद यादवले दिएका छन् ।
यादवका अनुसार महाधिवेशनको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गर्नेछन् । दुई दिनसम्म चल्ने अधिवेशनमा आठ वटै जिल्लाबाट करिब २५० जना प्रदेश प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
अधिवेशनमा स्वास्थ्यकर्मीको अन्तरप्रदेश सरुवा, स्थानीय सेवा ऐन २०८१ संशोधन लगायतका नीतिगत विषयमा छलफल हुने फोरमका केन्द्रीय अध्यक्ष कृष्णलाल यादवले जानकारी दिए ।
महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन बन्द सत्र हुने अध्यक्ष विनोद यादवले बताए । बन्द सत्रमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा नीति–कार्यक्रम प्रस्तुतिसहित नयाँ कार्य समिति चयन गरिनेछ । यस क्रममा १७ सदस्यीय नयाँ कार्य समिति गठन हुने पनि यादवले स्पष्ट पारे ।
कार्यक्रमको तयारीबारे जानकारी दिने पत्रकार सम्मेलनमा फोरमका उपाध्यक्ष राम छविला यादव, बिरेन्द्र कुमार राय, लक्ष्मण यादवलगायतको उपस्थिति रहेको थियो ।














Discussion about this post