जनकपुरधाम/भदौ ६ गते । बालविवाह अन्त्यका लागि स्थानीय तहको कानुन व्यवस्था र त्यससँग सम्बन्धित चुनौतीहरूबारे अनुभव आदानप्रदान तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।
Girls Not Brides Nepal को आयोजनामा तथा मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय को समन्वयमा सम्पन्न सो कार्यक्रममा सेभ द चिल्ड्रेन को सहयोग रहेको थियो।
कार्यक्रममा महोत्तरी र सर्लाही जिल्लाका सबै स्थानीय तहका उपाध्यक्ष तथा उप-प्रमुख, महिला तथा बालबालिका शाखाका प्रमुख तथा अधिकृतहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आफ्ना पालिकामा बालविवाह नियन्त्रणका लागि चालिएका कदम, अनुभव र चुनौतीहरूबारे विस्तृत छलफल गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा मधेस प्रदेश सभा सदस्य तथा प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी अध्यक्ष रुपा कुमारी यादव उपस्थित रहनुभएको थियो। उहाँले बालविवाहको असर केवल पीडित परिवार वा समुदायमै सीमित नभई सम्पूर्ण समाज र मुलुकको भविष्यमा पर्ने उल्लेख गर्दै यसलाई रोक्न प्रदेश र स्थानीय तहबीच आपसी समन्वय अत्यावश्यक रहेको बताउनुभयो।
यस अवसरमा सप्तरीको खडक नगरपालिका ले आफूलाई बालविवाहमुक्त क्षेत्र घोषणा गरेको अनुभव पनि प्रस्तुत गरिएको थियो। खडक नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी ले सो घोषणासम्म पुग्न पालिकाले अपनाएको रणनीति, समुदायलाई सचेत बनाउन गरिएको प्रयास तथा कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे जानकारी साझा गर्नुभयो।
कार्यक्रममा बालविवाहको नकारात्मक असर र सामाजिक-आर्थिक परिणाम, रोकथामका उपायहरू, साथै स्थानीय तहले बालविवाह अन्त्यका लागि अबलम्बन गर्न सक्ने रणनीतिहरू माथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले कानुनको प्रभावकारी कार्यान्वयन, जनस्तरमा चेतना अभिवृद्धि, विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन, धार्मिक तथा सामाजिक अगुवाहरूलाई संलग्न गराउने लगायतका उपायहरूलाई प्रभावकारी रणनीति बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले बालविवाह अन्त्यका लागि प्रदेश र स्थानीय तहबीच समन्वय, अनुभव आदानप्रदान र साझा रणनीति निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने आयोजक संस्थाले जनाएको छ।














Discussion about this post