जनकपुरधाम/भदौ ७ गते। आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधामको आयोजनामा र हिमालयन ज्वेलर्सको सहयोगमा सदस्य सहजकर्ता वित्तीय साक्षरता तथा हरितालिका तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य सहकारीका सदस्यहरुलाई वित्तीय ज्ञान, पूँजीको सदुपयोग, बचतको महत्व तथा ऋण व्यवस्थापनका विषयमा अभिवृद्धि गर्नुका साथै हरितालिका तीज पर्वलाई सांस्कृतिक पर्वको रूपमा सम्मानपूर्वक मनाउनु रहेको सहकारी संस्थाले जनाएको छ।
सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी संस्था सदस्यहरूको आर्थिक उन्नतिमा भरपर्दो माध्यम हुने भन्दै वित्तीय साक्षरता हरेक परिवारको आवश्यकता भएको उल्लेख गरे। उनीहरुले विवेकपूर्ण खर्च, नियमित बचत, उचित लगानी तथा सहकारी प्रणालीमार्फत आर्थिक सबलीकरण सम्भव हुने धारणा राखे। साथै सहकारीका सदस्यबीच आपसी सहयोग, पारदर्शिता र विश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी महिलाहरुलाई हरितालिका तीजको धार्मिक, सामाजिक र सांस्कृतिक महत्वबारे जानकारी दिइएको थियो। सहभागी महिलाले तीजका गीत, नृत्य र विविध प्रस्तुतिहरु पनि गरेका थिए जसले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
आस्था बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुले सहकारीको गतिविधि, भविष्यका योजना तथा सदस्यहरुलाई उपलब्ध गराइने सेवा–सुविधाबारे जानकारी गराएका थिए। कार्यक्रममा सक्रिय सदस्यहरुलाई सम्मान गरिएको र नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको संस्थाले जनाएको छ।
सदस्यको ठूलो उपस्थितिमा सम्पन्न कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि र सांस्कृतिक ऐक्यबद्धता दुवैलाई बल पुर्याएको आयोजक आस्थाले विश्वास व्यक्त गरेको छ।













Discussion about this post