गिरिजानन्द साह/जनकपुरधाम/साउन २१ गते ।जनकपुरधामको भानुचौकस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा जिल्ला हुलाक कार्यालय धनुषाअन्तर्गत सञ्चालनमा रहेको हुलाक बचत बैंक गाभिएको छ ।
सरकारले चालु आर्थिक वर्षदेखि हुलाक बचत बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने नीति अनुसार यो प्रक्रिया अघि बढाइएको हो । यस सम्बन्धमा हुलाक निर्देशनालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
हुलाक निर्देशनालय धनुषाका निर्देशक जगदीश अर्यालका अनुसार, हुलाक बचत बैंकको कुल दायित्व रु १ करोड ४८ लाख ८४ हजार ४५१ रूपैयाँ ७६ पैसा रहेकोमा ऋण लगानीबाट उठ्न बाँकी रहेको रु १८ लाख ८१ हजार २५० घटाई, बाँकी रु १ करोड ३० लाख ३ हजार २०१ रूपैयाँ ७६ पैसा राष्ट्रिय वाणिज्य बैंकमा साउन २० गते हस्तान्तरण गरिएको हो ।
यस गाभिएसँगै अब धनुषामा हुलाक बचतको सेवा र सुविधा राष्ट्रिय वाणिज्य बैंक जनकपुरधामको भानुचौक शाखा मार्फत प्रदान गरिनेछ । हुलाक बैंकमा खाता रहेको सेवाग्राहीले अब रावा बैंक मार्फत सेवा लिन सक्ने छन् ।














Discussion about this post