गिरिजानन्द साह/जनकपुरधाम/असार २४ गते। मधेश प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको अभियान अन्तर्गत ‘पर्यटन प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रम’ को समापन सत्र जनकपुरधाममा सम्पन्न भएको छ। नेपाल होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशको आयोजना तथा होटल तथा पर्यटन व्यवसायी संघ धनुषाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिको रूपमा सहभागी हुनु भयो। मुख्यमन्त्री सिंहले मधेशमा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण र व्यवस्थापन गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भनुभयो, “पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना र आर्थिक समृद्धिको मार्ग खोल्न सकिन्छ। प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार विस्तारमा प्रतिबद्ध छ।”
कार्यक्रममा संघका पदाधिकारी, पर्यटन व्यवसायी, विज्ञ, प्रदेश सरकारका सम्बन्धित अधिकारी, स्थानीय निकायका प्रतिनिधि, सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।
सहभागीहरूले जनकपुरधाम, सिम्रौनगढ, गढीमाई, जलेश्वर, चुरे क्षेत्र, गंगा सागर र धनुषाधाम लगायतका महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा पर्यटन क्षेत्र अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
समापन समारोहको अवसरमा पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमको समन्वय होटल तथा पर्यटन महासंघ धनुषाले गरेको थियो।













Discussion about this post