गिरिजानन्द साह/जनकपुरधाम/असार १२ गते । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित “उप–मेयर कप कबड्डी प्रतियोगिता” को दोस्रो दिनको खेल आज जारी रहेको छ। प्रतियोगिता अन्तर्गत आज १४ वटा खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
उक्त प्रतियोगिता उपमहानगरपालिकाभित्रका विद्यालयका छात्राहरुलाई लक्षित गर्दै आयोजना गरिएको हो। हिजो औपचारिक रूपमा उद्घाटन गरिएको प्रतियोगितामा १० वटा विद्यालयका छात्रा टोलीहरू सहभागी छन्।
जनकपुरधाम उपमहानगरपालिकाले पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरेको हो। आयोजकका अनुसार प्रतियोगिता विद्यालयस्तरीय छात्रा खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई उपमहानगरपालिकाको तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताले छात्राहरूमाझ खेल भावना, अनुशासन र आत्मविश्वास विकासमा सहयोग पुग्ने आयोजकहरूको विश्वास छ।
प्रतियोगिता जनकपुरधामको गुगल प्रसाद माविको प्रांगणमा सञ्चालन भइरहेको छ।





















Discussion about this post