जनकपुरधाम/जेष्ठ २८ गते। जनकपुरधाम उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी जेष्ठ ३० र ३१ गते “मधेस टुरिजम मिट २०२५” आयोजना हुने भएको छ। जनकपुरधाम र मधेस प्रदेशको समग्र विकासमा पर्यटन प्रवर्द्धनलाई मेरुदण्डका रूपमा विकास गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमको पहिलो दिन जेष्ठ ३० गते जनकपुरधाममा र दोस्रो दिन जेष्ठ ३१ गते वीरगञ्जमा गरि दुई दिनसम्म विविध कार्यक्रम हुनेछन्। कार्यक्रममा मधेस प्रदेशका पर्यटकीय सम्भावना, लगानी, पूर्वाधार विकास, सांस्कृतिक सम्पदा र स्थानीयस्तरका पर्यटन व्यवसाय प्रवर्द्धनमा केन्द्रित छलफल तथा प्रस्तुती रहने बताइएको छ।
जनकपुरधाममा हुन लागेको पहिलो दिनको कार्यक्रम भव्य र सभ्य बनाउनका लागि नगरप्रमुख मनोज साहको अध्यक्षतामा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकमा जनकपुरधामका विशिष्ट व्यक्ति तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ, वर्तमान अध्यक्ष सुरेन्द्र भण्डारी, निवर्तमान उपाध्यक्ष अम्भु प्रसाद साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेश होटल तथा पर्यटक संघका अध्यक्ष विजय झुनझुनवाला, महावीर युवा कमिटीका पूर्व अध्यक्ष धमेन्द्र साह, त्रिभुवन ठाकुर, योगेश कुमार शर्मा, धिरु यादव, धर्मेन्द्र, मिनापका अध्यक्ष परमेश्वर झा, टुर गाइड एसोसिएसन मधेस प्रदेशका अध्यक्ष विक्रम साह, महासचिव मोनु गुप्ता, र विश्व हिन्दू परिषद धनुषाका अध्यक्ष सन्तोष कुमार साह लगायतको सक्रिय सहभागिता रहेको थियो।
संयुक्त रूपमा जनकपुरधाम उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डद्वारा आयोजना हुन लागेको “Madhesh Tourism Meet 2025” मधेस प्रदेशको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
Discussion about this post