गिरिजानन्द साह/जनकपुरधाम/जेठ १२ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको आयोजना र विश्व स्वास्थ्य संगठन (WHO) को सहकार्यमा जनकपुरधाममा “आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता” विषयमा केन्द्रित नीति संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रमको उद्देश्य स्थानीय तहमा गुणस्तरीय, समावेशी र समयमै स्वास्थ्य सेवा सुनिश्चित गर्न नीति, योजना र समन्वयका पक्षमा छलफल र सहकार्य विस्तार गर्नु रहेको थियो।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक, मटिहानी नगरपालिकाका नगर प्रमुख, हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख, कर्जन्हा नगरपालिकाका नगर प्रमुख लगायत विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू, सरोकारवाला निकाय, तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख वक्ताहरुले स्थानीय तहमा स्वास्थ्य पूर्वाधार, जनशक्ति, औषधि आपूर्ति, आकस्मिक सेवा व्यवस्थापन र महामारी तयारी सम्बन्धी वर्तमान अवस्था, चुनौतीहरू र सुधारका सम्भावनाहरूमा आफ्ना धारणा राखेका थिए।
ग्रामीण तथा दुर्गम क्षेत्रसम्म आधारभूत स्वास्थ्य सेवा पहुँचको विस्तार,आकस्मिक अवस्थामा प्रयोग हुने रिस्पोन्स सिस्टमको मजबुतीकरण,स्थानीय तहसँग समन्वयमा नीति निर्माण र कार्यान्वयनको खाँचो,स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, तालिम र प्रोत्साहन,स्वास्थ्य बजेटमा पारदर्शिता र प्रभावकारी व्यवस्थापन र विपद् व्यवस्थापन, एम्बुलेन्स सेवा तथा प्राथमिक उपचार सुविधाको विस्तार सम्बन्धि विषयहरुको बारेमा छ्लफल गरिएको थियो।
कार्यक्रममा सहभागी पालिकाहरूले आफ्ना प्रयासहरू प्रस्तुत गरे। सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले ज्येष्ठ नागरिकहरूलाई निःशुल्क औषधि, घरदैलो सेवा, स्वास्थ्य शिविर, र सेनेटरी प्याड वितरणको जानकारी गराए। पर्साको पोखरीया नगरपालिकाका प्रमुख प्रधुम्न चौधरीले जनशक्ति र औषधि अभावका कारण सेवा प्रभावकारी बनाउन कठिनाइ भएको बताए। सप्तरीको हनुमान नगरकंकालनीका प्रमुख विरेन्द्र माझीले बजेट कटौतीले सेवा विस्तारमा असर परेको जनाए।
स्वास्थ्य निरीक्षक कमलेश मिश्रले आगामी वर्षका लागि पर्याप्त बजेट विनियोजन हुने आशा व्यक्त गर्दै सरकारबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण हुने जानकारी दिए। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले सेवा प्रभावकारी बनाउन पालिकाहरूको भूमिका महत्त्वपूर्ण भएको बताए।
कार्यक्रममा डब्लुएचओका प्रतिनिधिले नेपालमा स्वास्थ्य सेवाको समग्र सुधार र आकस्मिक स्वास्थ्य संकटका लागि तयारी अभिवृद्धि गर्न सस्थाले निरन्तर सहयोग गर्दै आएको बताएका थिए। स्थानीय स्तरमा निर्णयकारी तहका पदाधिकारीहरूसँग प्रत्यक्ष संवादमार्फत नीतिगत सुधारको आधार तयार पार्न सकिने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमले स्थानीय, प्रादेशिक र संघीय तहबीचको नीतिगत समन्वयको आवश्यकता झल्काएको छ। सहभागीहरूबाट संकलित सुझाव तथा अनुभवहरूको आधारमा आगामी दिनमा स्वास्थ्य सेवा सुनिश्चितता सम्बन्धी कार्ययोजना तयार पारिने जनाइएको छ।














Discussion about this post