बैशाख २० गते। जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गर्दै जनकपुरधाममा शनिबार दबाबमूलक र्याली आयोजना गरिएको छ। जानकी मन्दिर परिसरबाट सुरु भएको र्यालीमा साधु–सन्त, धर्मगुरु, धार्मिक संघ–संस्था, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो।

र्यालीका सहभागीहरूले ‘जानकी नवमीमा राष्ट्रिय विदा दे’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ लगायतका नारा लगाउँदै सरकारलाई चेतावनी दिएका थिए। उनीहरूले जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिई आएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकी नवमी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र र ऐतिहासिक महत्व बोकेको पर्व भएकाले यसलाई राष्ट्रिय विदा घोषणा गर्नुपर्ने माग गरे। उनले राज्यले धार्मिक पर्वहरूप्रति देखाएको बेवास्ता धार्मिक भेदभावको परिचायक भएको आरोपसमेत लगाए।

यसअघि वैशाख ७ गते प्रधानमन्त्रीलाई सम्बोधन गर्दै जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको थियो। तर अहिलेसम्म सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको भन्दै र्यालीका सहभागीहरूले राज्यको विभेदपूर्ण दृष्टिकोणको आलोचना गरेका छन्। र्यालीको उद्देश्य धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचानको सम्मानका लागि जनचेतना फैलाउनु रहेको आयोजकले बताएका छन्। जानकी नवमी, देवी सीताको जन्मोत्सवका रूपमा मनाइने पर्व हो, जुन प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन जनकपुरधाममा भव्य रूपमा मनाइन्छ।
Beta feature
Beta feature














Discussion about this post